भरतपुर महानगरपालिका सिटी हल निर्माणको लागि जग्गाको खोजीमा जुट्दै ।

चितवन , २२ असोज । चितवनको भरतपुर महानगरपालिका सिटी हल निर्माणको लागि जग्गाको खोजीमा लागिपरेको छ । यसअघि उपयुक्त मानिएका स्थानमा विवाद बढ्दै गएपछि भरतपुर महानगरपालिका सिटी हल निर्माण गर्ने स्थानको खोजीमा रहेको हो । महानगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने योजनाअनुसार सिटी हल निर्माण गर्ने जग्गाको टुंगो नलागेकै कारण अझै पनि महानगरपालिका खोजीमा लागिपरेको छ । यसअघि महानगरले गएको नगरसभाबाट भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटी हल निर्माण गर्ने निर्णय गरेको थियो । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्को विरोधपछि महानगरले जिल्लाका ठूला दलहरुसँग छलफल गरेर भरतपुर महानगरपालिकाको वडा नं १० स्थित जिल्ला प्रहरी कार्यालयअगाडि रहेको गेष्ट हाउस चौरमा सिटी हल निर्माण गर्ने निर्णय गर्‍यो । तर, गेष्ट हाउस चौरमा सिटी हल निर्माण गर्ने विषयमा जनस्तरबाटै चर्को विरोध भएपछि अहिले महानगर थप समस्यामा परेको छ । गेष्ट हाउस चौरमा सिटी हल बनाउने विषयमा साना दलहरुले समेत विरोध गरिरहेका छन् । हामीले क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउने निर्णय गर्दा नेपाली कांग्रेसका साथीहरुले विरोध गर्नुभयो’, महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘त्यसपछि गेष्ट हाउस चौरमा बनाउने सर्वपक्षीय निर्णय हुँदा त्यहाँ झन् जनस्तरबाटै चर्को विरोध भयो । त्यसैले, हामी त्यसको विकल्पको खोजीमा छौँ ।’ पश्चिम चितवनमा प्रशस्तै जग्गा भए पनि दूरीको हिसाबले टाढा पर्ने हुँदा सबैलाई पायक पर्ने ठाउँको खोजीमा रहेको उनले बताइन् । ‘हामीसँग जग्गा नै नभएको त होइन’, उनले भनिन्, ‘तर, सकभर सबैलाई पायक पर्ने ठाउँमा बनाऔँ भन्नेमात्रै हो ।’ महानगरको योजना अनुसारको सिटी हल निर्माणका लागि न्यूनतम पाँच बिगाह जग्गाको आवश्यकता पर्ने उनको भनाइ छ । ‘सिटी हल निर्माणको आवश्यकता चाहिँ १० बिगाहको हो’, उनले भनिन्, ‘तर, न्यूनतम पाँच बिगाह क्षेत्रफलसम्ममा बनाउन सकिन्छ ।’ खासगरी, महानगरले गेष्ट हाउस चौर त्यति उचित नहुने भने पनि दलहरुको सहमति अनुसार निर्णय गर्दा जनस्तर बाटै विरोध भएको उनको भनाइ छ । अहिले उपयुक्त स्थानकै खोजीमा रहेको भन्दै उनले भनिन्, ‘अन्तिम विकल्प त क्यान्सर अस्पतालको जग्गा नै हो, किनभने पश्चिम चितवनमा प्रशस्तै जग्गा भए पनि सबैलाई पायक पर्ने ठाउँ भनेको भरतपुर आसपासकै जग्गा हो, त्यसका लागि क्यान्सर अस्पतालको जग्गाबाहेक अरु विकल्प नहुन सक्छ ।’ गेष्ट हाउस चौर मुख्य बस्तीको बीच भागमा पर्ने हुँदा आपतविपत् पर्दा सुरक्षित स्थानका रुपमा प्रयोग गर्न सकिने ठाउँका रुपमा छाडिनुपर्ने उनले बताइन् । ‘त्यसैले, हाम्रो योजना त क्यान्सर अस्पतालकै जग्गामा बनाउने हो’, उनले दोहोर्‍याइन् । विवेकशील साझा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, वैद्य माओवादी लगायतका साना दलहरुले पनि क्यान्सर अस्पतालकै जग्गामा उपयुक्त हुने बताएका छन् ।