स्वास्थ्य बिमा कार्यक्रमको चितवनमा चरम दुरुपयोग

 निजीमा जाँच, सरकारीमा औषधि लेखाउदै बिरामी ।

चितवन , २२ असोज । निजी अस्पतालमा स्वास्थ्य जाँच गरी सरकारी अस्पतालका डाक्टरहरुसँग धमाधम औषधि लेखाउने गरेको तथ्य सार्वजनिक भएको छ । स्वास्थ्य बिमा कार्यक्रमबाट लाभान्वितहरुले निजी अस्पतालमा उपचार जाँच गरी भरतपुर अस्पतालबाट पुनः बिमाको टिकट लिई उक्त टिकटमा औषधि लेखिदिन डाक्टरलाई दबाब दिने गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। कृष्णप्रसाद पौडेलले बताए । सामान्य समस्या भएर गएका बिरामीले पनि सिटी स्क्यान र एमआरआईसम्मको जाँचका लागि लेखिदिन डाक्टरलाई दबाब दिने गरेको मेसु पौडेलले बताए । ‘हाम्रै पैसा हो, हामीले बिमा गराएका छौँ, सबै जाँच गराउँछौँ भन्दै आउनेहरु धेरै छन्’, मेसु डा। पौडेलले भने, ‘अनावश्यक परीक्षणका लागि पनि बीमितहरु मरिहत्ते गर्छन् ।’ बिमा कार्यक्रमको उद्देश्य र प्रभावकारिताबारे जनस्तरमा अझै जानकारी नपुगेकाले बिमा कार्यक्रम नै कतै असफल हुने त होइन भन्ने शंका उत्पन्न भएको उनले बताए । ‘औषधि लेख्नका लागी मात्रै बिमाको टिकट काटेर आउनेहरु थुप्रै छन्, मेसु पौडेलले भने, ‘बिमाकर्ताले अनावश्यक दबाब दिने गरेका छन् ।’ बिमाबाट निःशुल्क औषधि पाउने भएपछि बिमाकर्ताले निजी अस्पतालमा जाँच गरी सरकारी फार्मेसीबाट औषधि लिने गरेका हुन् । भरतपुर अस्पतालका फिजिसियन डा। भोजराज अधिकारीले बिरामी जाँच गर्नुपर्ने समयमा बिमाको टिकटमा औषधि लेखेर बस्नुपरेको बताए । उनले भने, ‘हाम्रो भूमिका लेखनदासको जस्तो भएको छ ।’स्वास्थ्य जाँच अरु अस्पतालमा गर्ने, तर औषधि भने सरकारी अस्पतालको फार्मेसीबाट लिने हुँदा फार्मेसीमा अनावश्यक भीडभाड हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।