लागु औषध रोकथाम अभियान

चितवन, १९ असोज
चितवनको भरतपुर महानगरपालिकालाई लागु औषध मुक्त नगर बनाउने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरु हुँदै आएका छन् । लागु औषध रोकथाम अभियान सञ्चालन गरेर महानगरपालिकाको २९ वटै वडामा स्थानीय बासिन्दाको सहभागितामा सचेतनामूलक कार्यक्रम गरिदै आएको छ । सन्देश फाउन्डेशन नेपाल तथा रिकभरिङ नेपाल महासंघको संयुक्त आयोनजामा हुँदै आएको कार्यक्रमले भरतपुरको वडा नम्बर १९ देखि २९ सम्म ११ वटा वडामा सचेतनामूलक कार्यक्रम गरिसकेको कार्यक्रम संयोजक दिवाकर श्रेष्ठले जानकारी दिए । यसै सन्दर्भमा शुक्रबार भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा गरिएको कार्यक्रममा वक्ताहरुले लागु औषधको सेवनबाट घर, परिवार तथा समाजबाट तिरस्कार हुने भएकाले यसको प्रयोग नगर्न आग्रह गरेका थिए । कार्यक्रममा वडा नम्बर १९ का अध्यक्ष कर्णबहादुर गुरुङले बालबालिकालाई चेतना दिँदै असल मार्गमा हिँड्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए । अभिभावकहरु व्यस्त हुने र आफ्ना सन्तानलाई माया र ममताको स्थानमा पैसा मात्रै दिने प्रवृत्तिले अधिकांश किशोरवस्थाका बालबालिकाहरु लागु औषध दुव्र्यसनीमा फसेका गुरुङको भनाइ छ । सो कार्यक्रममा नेपाली काँग्रेस चितवनका पूर्व सभापति तोपमान सिंह गुरुङले लागु औषध प्रयोग विश्वकै समस्या भएकाले यसको रोकथामको लागि विशेष योजना चाहिने बताए । महानगरपालिका र हरेक वडाले लागु औषध रोकथाममा लाग्दै यसका लागि छुट्टै बजेट छुट्याउनुपर्नेमा गुरुङले जोड दिए । सचेतनामूलक कार्यक्रममा पूर्व लागु औषध प्रयोगकर्ता एवम् सन्देश फाउन्डेशन नेपालका कलाकार रमेश घताने र गोकुल कंडेलले लागु औषध प्रयोगकर्ता हुँदा समाज र परिवारबाट समेत हेला भएको अनुभव सुनाउँदै लागु औषधको सेवन नगर्न सुझाव दिएका थिए । सांगीतिक क्षेत्रमा राष्ट्रिय स्तरमा स्थापित हुने क्रममा नशाका कारण आफूहरुको भविष्य बिग्रिएको भन्दै उनीहरुले आफूहरुको जस्तो जीवन अरुले बिताउन नपरोस् भनेर सन्देशमूलक गीतहरु प्रस्तुत गरेको बताए ।