पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउने तयारी

चितवन, १९ असोज । चितवनको नारायणगढ बजारस्थित पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउन लागिएको छ । हाल दुई लेन रहेको ६ किलोमिटर सडक खण्ड लाई ६ लेनको बनाउन लागिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्रकुमार झाले भरतपुर महानगरपालिकाको सहकार्यमा सडक विस्तार गर्न लागिएको बताए । ‘सर्भेको काम सकिएको छ,’ उनले भने, ‘सडक सीमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक बनाउन लागिएको छ । सडकको दायाँबायाँ सडक सीमाभित्र पर्ने ५० मिटर चौडाइको सडक क्षेत्रका धेरै जसो ठाउँ खाली नै रहेको छ ।’ भरतपुर विमानस्थल अगाडीका केही घर सडकको ५० मिटर सीमा परिधिभित्र परेका छन् । सर्भेका क्रममा चार घर सडकको सीमाभित्र परेको पाइएको छ। सडक सीमा अतिक्रमण गरेर बनाएका ती घर सडक विस्तारका लागि भत्काउनुपर्नेछ । सडक विस्तारका लागि डिभिजन सडक सँग सहजीकरण गरिएको भरतपुर महानगरपालिका शहरी विकास महाशाखाका इन्जिनियर सहदेव भण्डारी बताउँछन् । ‘बुटवल भैरहवा सडकखण्ड जस्तै बनाउने तयारी थालेर प्रस्ताव पेश गरेका छौं,’ उनले बताए । सडकखण्डको बीच भागमा चार लेनको बाटो र दुई छेउमा सर्भिस लेन बनाइने उनले बताए । सडक बीचको भागको चार लेनको स्पिड वे दुई तर्फ सात÷सात मिटर चौडाइको हुनेछ । सर्भिस लेनसँगै दुईतर्फ सडक पेटी सहित साइकल लेन र ओभरहेड फुटब्रिज पनि राख्ने गरी प्रस्ताव गरिएको इन्जिनियर भण्डारीले जानकारी दिए । सर्भेको काम सकिएपछिको डिजाइन सडक विभागमा पेश गरेर स्वीकृत भएपछि सडक विस्तारको काम थप प्रक्रियामा अघि बढ्ने उनले बताए । ‘हामीले प्रस्ताव गरेका छौं । अन्तिम निर्णय हुन बाँकी छ,’ उनले भने, ‘डिजाइन स्वीकृत भएपछिको फाइनल डिजाइनले नै सडक कस्तो बन्छ भन्ने देखाउँछ ।’ टिपिकल क्रस सेक्सनमा पर्ने सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्रलाई व्यवस्थित बनाउनेछ। सडक विस्तार गरेर छ लेनको बनाएपछि पुल्चोकबाट पथलैयासम्म नै पुग्ने गरी विस्तार हुने सडक कार्यालय भरतपुरका प्रमुख झा बताउँछन् । ‘हाइवे भाग भएकाले भविष्यमा नै प्रयोग गर्ने गरी बनाइन लागिएको हो ।’ दशैं अगाडी डिजाइन स्वीकृत लगायतका प्रक्रिया पूरा गरेर दशैंपछि काम सुरु गर्ने योजनाअनुसार कार्यालय अघि बढेको उनले बताए । महानगरपालिकाले हाल आँपटारीदेखी केन्द्रीय बस टर्मिलन चोकसम्मको बाइपास रोड विस्तारको काम गरिहेको छ । दुई लेनको सर्भिस लेन र चार लेनको स्पिड वेसहितको चार किलोमिटर सडक विस्तारको काम भइरहेको छ । एक वर्षअघि विस्तार सुरु गरिएको सडकमा अहिले ढल निकास बनाउने काम चलिरहेको छ । आउने एक वर्षभित्र काम सकिने महानगरपालिकाका इन्जिनियर भण्डारीले बताए ।
महानगरपालिका क्षेत्रमा हाल १ हजार ४ सय २५ किलोमिटर सडक रहेको छ । जसमा ५ सय ३३ किलोमिटर कालोपत्रे, ७ सय ८८ किलोमिटर ग्राभेल, एक सय किलोमिटर माटे र तीन किलोमिटर ढलान सडक छन् । गएको वर्ष झन्डै ५० किलोमिटर सडक कालोपत्रे गरिएको तथा ३२ किलोमिटर सडक ग्राभेल र तीन किलोमिटर सडक मर्मत भएको भण्डारीले बताए । चालू आर्थिक वर्षमा महानगर क्षेत्रका ६० किलोमिटर सडक कालेपत्रे गर्ने योजना रहेको उनले बताए ।