विकास निर्माण कार्यक्रममा पैसा खर्च गर्नुपर्छ ः प्रदेशसभा सदस्य सुवेदी


चितवन, १४ असोज
प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले सहकारीहरुले सञ्चय गरेर राखेको पैसालाई विकास कार्यमा खर्च गर्नुपर्ने बताएका छन् । आइतबार नारायणगढमा आयोजना गरिएको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिकोत्सव उद्घाटन गर्दै सुवेदीले पैसा जम्मा गरेर राखेर मात्रै समृद्धि हासिल नहुने भएकाले त्यसको सहि रुपमा सदुपयोग गर्नुपर्ने बताए । निजी क्षेत्र, सहकारी र सरकार मिलेर अगाडि बढेमा चाँडै देश विकास हुने भएकाले पनि सरकारले तीन खम्बे आर्थिक नीति ल्याएको उल्लेख गर्दै सुवेदीले सहकारीले जनतालाई प्रत्यक्ष फाइदा पु¥याउँदै उद्यमी बनाएको सुवेदीले बताए । सहकारीले उत्पादनशील कार्यमा लगानी गर्नुपर्नेमा सुवेदीले जोड दिए । हामीले हाम्रो आम्दानीको धेरै रकम चाडपर्व, बिहेबारी, उत्सव भोजमा सक्ने गरेको उल्लेख गर्दै सुवेदीले यस्तो कार्यले आम्दानी नहुने भएकाले आम्दानी हुने क्षेत्रमा लगानी गर्नुपर्ने बताए । वार्षिकोत्सव कार्यक्रममा प्रदेश ३ का प्रदेशसभा सदस्यहरु पार्वती सिलवाल र रिना गुरुङले सानो पुँजी परिचालन गरेर हरेक नागरिकलाई उद्यमी बनाउने नीति सहकारीको भएको बताए । सो कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले नीति, विधि र प्रविधिले सहकारी चल्नुपर्ने बताए । नीति र विधिबाट सहकारी सञ्चालन गरेको अवस्थामा यसको नेतृत्व परिर्वनले समेत संस्थाको काम कारबाहीमा कुनै प्रभाव नपर्ने खड्काको भनाइ छ । जोखिमरहित सहकारी आजको आवश्यकता भएको उल्लेख गर्दै खड्काले सहकारीको गुणस्तर वृद्धि गर्दै यसैबाट समृद्धि हासिल गर्न सकिने बताए । स्थापनाकालमा ४१ जना सदस्यबाट सञ्चालन भएको एभरेष्ट सहकारीमा हाल करिब तीन हजार सदस्य रहनुले पनि सहकारीले जनताको मन जितेको अध्यक्ष बालगोपाल चुकेले बताए । संस्थाको शेयर पुँजी तीन करोड पाँच लाख ८१ हजार रहेको उल्लेख गर्दै चुकेले शेयर पुँजी बढाउनको लागि शेयर सदस्यहरुलाई आग्रह गरे । आर्थिक वर्ष २०७४÷०७५ मा एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको बचत पुँजी १८ करोड २२ लाख ७६ हजार रुपैयाँ रहेको छ । संस्थाको प्रगति प्रतिवेदन सचिव मदन पौडेलले राखेका थिए । साधारणसभाका क्रममा संस्थाले आफ्ना तीन जना बाल सदस्य, तीन जना नियमित रक्तदाता, गत वर्षको एसईईमा उत्कृष्ट अंक ल्याउने दुई जना शेयर सदस्यका छोराछोरी, १६ जना उत्कृष्ट बाल बचतकर्ता, १६ जना उत्कृष्ट कारोबार गर्ने सदस्य, सर्वाधिक शेयर खरिदकर्ता, सर्वाधिक उत्कृष्ट बचतकर्ता, ज्येष्ठ तथा कनिष्ठ सदस्यका साथै दुई जना उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको थियो । एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालगोपाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक सदस्य शर्मिला अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।