रत्ननगर नगरपालिकामा आजदेखी फ्री वाइफाइ सेवा

चितवन , ९ असोज । पुर्वी चितवनको रत्ननगर नगरपालिकाले आजदेखी औपचारिक रुपमा ुफ्रीु वाइफाइ सञ्चालनमा ल्याएको छ । सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउन नगरपालिकाले नगर भित्रका मुख्य बजारहरुमा निस्शुल्क वाइफाइ जडान गरेको हो । नगरपालिकाले यहाँको टाँडीचोक, सौराहाचोक, कृष्णप्रणामी मन्दीर, बसपार्क लगायतका स्थानमा निःशुल्क वाइफाइ जडान गरेको रत्ननगर नगरपालिकाका आईटी अधिकृत रवि तिवारीले जानकारी दिए । उनका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्ड नेटवर्कसँगको सहकार्यमा नगरपालिकाले नगरभित्रका विभिन्न ठाउँमा निःशुल्क वाइफाइ जडान गरेको हो । रत्ननगर नगरपालिकाले मंगलबार रत्ननगर ११ स्थित कृष्ण प्रणामी मन्दिरको भवनमा एक कार्यक्रमको आयोजना गरी निःशुल्क वाइफाइ सञ्चालनमा ल्याएको जनाएको हो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नेकपाका स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले नगरपालिकाले सूचना प्रविधिलाई प्रयोग गर्न प्रयास गरेको भन्दै प्रशंसा गरे । उनले मानवले हरेक कुरा इन्टरनेटबाट सिक्न सक्ने भन्दै बालबालिकाका लागि फ्री वाईफाइले ठूलो मद्दत पुग्ने बताए ।
यता , स्मार्ट सिटीको रुपमा विकास गर्ने अवधारणा लिएर अघि बढेका नगरप्रमुख नारायण वनले प्रविधिमैंत्री नगरपालिका बनाउन सकिने बताउँदै अन्य स्थानमा पनि निःशुल्क वाइफाइ जडानको प्रक्रियामा अघि बढेको जानकारी दिए । नगरप्रमुख नारायण वनको अध्यक्षतामा भएको कार्यकममा प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे, प्रदेश सांसदद्वय कृष्ण खनाल, कञ्चन खनाल, नगर उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।