चितवनका अधिकांश सडकको अवस्था नाजुक र अव्यवस्थित

सम्बन्धि निकाय मौन

चितवन , ९ असोज। चितवनको भरतपुरलाई महानगरपालिका लाई घोषणा गर्न सरकार जति हत्तारो भयो । त्यति यस क्षेत्रको बिकाशे निर्माणकार्यमा हत्तारो दिएको पाइदैन । चितवनलाइ महानगरपालिका भन्दा पनि लाज लागेर आउँछ । यहाँको सडक हेर्ने हो भने अधिकांश भत्किएर नाजुक छ । पिच भत्किएर सडक खाल्डाखुल्डी पर्दा समेत कसैको ध्यान जान सकिरहेको छैनन् । खाल्डोमा बर्षात्को पानी जम्दा र हिउँदमा धूलो उड्दा यहाँका यात्रुहरुले आवतजावत गर्दा दिनुहुँ सास्ती पाइरहेका छन् । भने सडकको कन्तबिजोगले गर्दा दैनिक सानातिना दुर्घटना समेत भइरहेका छन् । सडकमा दुर्घटनाको जोखिम पनि त्यत्तिकै बढेको स्थानीय बताउँछन् । घामलाग्दा धूलो र बर्षातको दिनमा पानी पोखरी जम्मे सडकको अवस्थाले स्थानीय नागरिक आजित भएको स्थानीयले बताउँछन् । तर, सम्बन्धि निकायले मर्मतसम्भारको कुनै ध्यान दिएको भने पाइदैन ।

कहाँ कहाँ भत्किए सडक , कुन ठाउँमा कस्तो अवस्था ?

१। चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलभित्रको पिच भत्किएर नाजुक बन्दा समेत नियमक निकाय रमिते बन्ने गरेका छन् । सडक भत्किएर नाजुक हुुँदा समेत सम्बन्धि निकायले आवश्यक ध्यान दिन नसक्दा केन्द्रीय बस टर्मिनल यतिबेला अव्यवस्थितका साथसाथै कुरुप बन्दै गइरहेको छ । यहाँको उक्त बस टर्मिनल भित्र फोहोर व्यवस्थापन हुन सकेको छैन भने खाने पानीको समेत समस्या रहेको छ । बस टर्मिनल स्थापना भएपनि यसको व्यवस्थापनमा भने चुनौती देखिदै आएको छ । बस टर्मिनल सञ्चालनको लागी नगरपालिकाले ठेकेदारलाई जिम्मा दिने गरेको छ । तीन वर्षको लागि दिइने ठेक्कामा ठेकेदारले आर्थिक दोहोन मात्रै गर्ने गरेका छन् । भरतपुरको केन्द्रीय बस टर्मिनलाई व्यवस्थित बनाउनको लागि माग विभिन्न समयमा स्थानीयहरुले महानगरपालिकामा ज्ञापन पत्र समेत बुझाउँदै आएका छन् । बसपार्क सञ्चालनको जिम्मा लिएको ठेकेदार पक्षको लाचारीपनका कारण बसपार्क अभावै अभावमा गुज्रिएको छ । एन के ईन्टरनेशनल कन्स्ट्रक्सन प्रालि यसको ठेकेदार पक्ष हो । करोडौँ रुपैयाँको लगानीमा निर्माण गरिएको केन्द्रीय बस टर्मिनल अहिले लथालिंङ्ग अवस्थामा रहेको छ । बसपार्कमा हाल देखिएको पानी, बिजुली र सरसफाइको समस्याबारे स्थानीय प्रशासन बेखबर जस्तै देखिएको छ ।

२। चितवनको भरतपुर महानगरपालिका–११ बसेनीचोकदेखि लामाटोलसम्मको सडकको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । सडक विस्तार गर्नको लागि बाटो डोजर लगाएर दुवै तर्फ भत्काए पनि लामोसमयसम्म पिचको काम सुरु नहुँदा सयौं खाल्डाखुल्डीले उपभोक्ता हैरान छन् । महानगरपालिकाको बजेटमा गोरखाली टोलसम्म दुवैतर्फ सडक विस्तारको काम भए पनि गोरखाली टोलबाट लामा टोलसम्मको सडक मर्मत कहिले हुने भन्ने जवाफ महानगरसँग पनि छैन । महानगरका इञ्जिनियर कृष्णबहादुर मल्ल ठकुरीले सडक विस्तारको काम भइरहेको गोरखाली टोलसम्मको सडक पिच गर्ने काम उपभोक्ता समितिले छिट्टै गर्ने भए पनि त्यहाँबाट वडा अध्यक्षको घरहुँदै लामाटोल पुग्ने सडक निर्माणको लागि छिट्टै इस्टिमेट गरिने बताए । बसेनी लामाटोल सडक विस्तार समितिका सदस्य विष्णु न्यौपानेले महानगरपालिकाको ४८ लाख र उपभोक्ताबाट १२ लाख उठाइएको बताए । उनले वर्षात समय सुरु भएकोले काममा ढिलाइ भएको बताए । त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बाबुराम अधिकारीले पनि वर्षातको समयमा सडकको पिच पक्की नहुने भएकोले काम रोकिएको बताए । उनले गोरखाली टोलसम्म सडक बन्ने भए पनि बहुवर्षीय योजना भएकोले त्यहाँबाट लामाटोलसम्म सडक कहिले बन्छ भन्ने अन्यौल रहेको बताए । वडा अध्यक्ष अधिकारीको घर सोही सडकमा पर्ने भएकोले सबैभन्दा धेरै सडकको सास्ती आफैँलाई भएको उनले बताए ।

३। चितवनको पश्चिम क्षेत्रमा पनि सडकको अवस्था उस्तै छ । भरतपुरसँग जोड्ने मुख्य सडक मध्येको एकखण्ड रामपुर चनौली सडक समयमा नै निर्माण सुरु नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । दैनिक सयौं गाडीहरु गुड्ने यो सडकमा ठूलाठूला खाल्डा परेका छन् । केही दिनदेखि चितवनमा लगातार परिरहेको पानीले ती खाल्डाहरु पोखरी जस्ता बनेका छन् । रामपुरदेखि चनौलीसम्म चार किलोमिटर छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्रमा पर्ने यो सडक खण्डमा उनकै पहलमा बजेट ल्याएर ठेक्का लगाएर ठेकेदार छनौट भए पनि काम सुरु भएको छैन । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख धमेन्द्र झाले सडक निर्माणका लागि भ्याट बाहेक पाँच करोड १३ लाख रकममा ठेक्का सम्झौता गत असारमा गरिएको बताए । मृत सञ्जिवनी बिराज एण्ड ब्रर्दश जेभीले सडक निर्माणको ठेक्का पाएको छ । ठेक्का सम्झौता अनुसार सडक डबल लेनको सोल्जरसहित अस्फाल्ट क्रंकिटबाट निर्माण गर्ने उल्लेख छ । निर्माण कम्पनीका ठेकेदार राजु सडौंलाले अहिले खोला बन्द रहेका कारणले निर्माण सुरु गर्न नसकिएको बताए । नगरपालिकाहरुले खोला खोलेपछि दसैँ पछाडि निर्माणको काम अघि बढाउने उनले दाबी गरे । ठेक्का समझौता अवधि एक वर्षको छ । ‘अहिले तत्काल खाल्डा पुरेर ग्रेडर लगाउनका लागि ग्राभेल थुपारेका छौं, भोलिबाट नै काम सुरु हुन्छ’, ठेकेदार सडौंलाले भने ‘समयमा नै सडक निर्माण हुन्छ, दसैँ लगत्तै डे«नको काम अघि बढछ, अहिले बर्खा र ग्राभेलको अभाव भएकोले निर्माण नभएको हो । ’ भरतपुरको चौंबिसकोठीदेखि चनौंलीसम्म १६ किलोमिटर छ ।

४। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित चोक बजारबाट भरतपुर–१४ को महेन्द्र चोक जोड्ने जीर्ड पुल नबन्दा पक्की सडकमा विगत एक वर्षदेखि सवारीसाधन गुड्न सकेको छैन । चोक बजारदेखि महेन्द्रचोक जोड्ने ३।२ किलो मिटर सडक गत वर्ष सडक डिभिजन कार्यालयले निर्माण ग¥यो । तर, उक्त बाटोमा पर्ने सिँचाइको लागि पानी लाग्ने पुल कल्भर्ट भाँचिएपछि उक्त बाटोमा सवारीसाधन गुडेको छैन ।भाँच्चिएको पुलले गर्दा मान्छे आवजजावतमा समस्या परेको एक वर्ष बढी भए पनि पुलको निर्माण अहिलेसम्म नभएको स्थानीय जीवन रेग्मी बताउँछन् । पुल भाँचिएर नुघेकाले बर्खामा बाढीले वरिपरिको जमिन नै डुबाउने गरेको उनले बताए । पुलको वरिपरि चिल्लो बाटो भएता पनि एक वर्ष अगाडि देखिको जीर्ण पुल बन्न सकेको छैन । पुलको लागि जिल्लाका सम्बन्धी निकाय तत्कालीन जिल्ला विकास समिति, सडक डिभिजन कार्यालय, महानगरपालिका, नारायणी लिफ्ट सिँचाइ हुँदै काठमाडौको पुल शाखामा पनि पुलको लागि निकै पहल भइरहेको तर बजेट पार्न नसकिएको भरतपुर महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हरिबिलास कोइराला बताउँछन् । सडक बन्ने तर पुल जीर्ण बन्दा स्थानीय बासिन्दा अन्यौलमा परेका छन् । उक्त पुल निर्माणका लागि ८० लाख लाग्ने सर्वे पनि भइसकेको छ तर पुल निर्माणको प्रक्रिया अघि नबढ्दा बाटो निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन सकेको छैन । यस खण्डमा सम्बन्धित पक्षले सडक निर्माणमा बेवास्ता गर्दा यात्रु आवतजावत गर्न कठिनाइ भएको चोक बजार महेन्द्रचोक उपभोक्ता समितिका सचीव नवराज सुवेदीले जानकारी दिए । सबै अधिकार स्थानीय सरकारसँग भएकोले यसको दायित्व महानगरपालिकाको देखिन्छ तर महानगरपालिकाले खासै चासो नदेखाएको छैन सुवेदीको गुनासो छ । यता भरतपुर महानगरपालिका योजना शाखा इन्जिनियर कृष्णबहादुर मल्ल भने केन्द्रीय सरकारसँग बजेट माग गरिएको र यसका लागि स्थानीय, जनप्रतिनिधि साथै राजनीतिक दल लाग्नुपर्ने बताउँछन् । विकासको पहिलो आधार नै अहिले सडक सञ्जाल हो । त्यसैले यसलाई जनप्रतिनिधिले पहिलो प्राथमिकतामा राख्नु पर्छ । सडक बन्ने तर पुलले गर्दै सडकमा सवारी साधन गुड्दैनन् भन्नु जनप्रतिनिधिकै लागि पनि लाजमर्दो कुरा हो ।