समाचार प्रभाव : खर्च अभावमा अस्पतालमै अलपत्र परेकी इशाको उद्वार ।

 

चितवन , ७ असोज । श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि बाँच्ने झिनो आशा समेत मारिसकेको तनहुँकी १७ बर्षे इशा गुरुङ आफू बाँच्ने सम्म कल्पना गरेकी थिइनन् चिकित्सककै सल्लाह अनुसार साउन २७ गते उनी चितवन मेडिकल कलेजमा भर्ना भइन् । उपचार प्रक्रिया समेत सफल भयो । उनलाई चिकित्सकले एक साता अगाडि नै घर जान सल्लाह समेत दिए । तर, आर्थिक अवस्था निक्कै कमजोर भएका इशालाइ चिकित्सकले घर जान दिएनन् । अस्पतालमा लागेको दुई लाख रूपैयाँमा अस्पतालले बिरामीको आर्थिक स्थितिलाई हेरेर ५० प्रतिशत छूट गरेपछि बाँकी एक लाख रूपैयाँ तिर्न नसक्दा उनी उपचार गरेर सन्चो भए पनि खर्च अभावकै कारण जान नपाएकी हुन् । त्यसपछि हामीले केही दिन अगाडि मात्रै उनले अस्पतालबाटै सहयोगको यार्चना गरेको देखाएपछि केही संघसंस्थाले उनलाई अस्पतालबाटै उद्वार गरेका छन् । चितवन मेडिकल कलेजमा उपचार गराएकी उनलाई अस्पतालबाट घर लैजानका लागि राष्ट्रिय नागरिक पार्टी चितवनका अध्यक्ष दिनेश गुरूङको नेतृत्वमा सहयोग रकम संकलन गर्ने अभियान चलाइएको थियो । जसअनुसार पार्टीका तर्फबाट ३८ हजार पाँच सय रूपैयाँ र पार्टीकै नेतृत्वमा गरिएको घरदैलोबाट संकलित ११ हजार पाँच सय रूपैयाँ, भरतपुर तमू नगर गुठीबाट प्राप्त १० हजार रूपैयाँ गरी ६० हजार रूपैयाँ संकलन गरिएको अध्यक्ष गुरूङले जानकारी दिए । उक्त रकममा रोटरी क्लब अफ रत्ननगरको तर्फबाट प्रेसिडेन्ट जनक पौडेल, इन्कमिङ प्रेसिडेन्ट विपीन पोख्रेल र आईपीपी विष्णु शर्माको पहलमा संकलित ४० हजार रूपैयाँ गरी अस्पताललाई बुझाउनुपर्ने एक लाख रूपैयाँ चुक्ता गरेपछि इशा घर जान पाएकी हुन् । अस्पतालबाट निस्किए पनि अस्पतालबाहिरको निजी मेडिकलमा औषधि खरिद गरेको पैसा बुझाउन बाँकी रहेको इशाकी आमा सुकमायाले बताइन् । सामान्य ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी उनले छोरीको उपचार खर्च संकलन गरेर अस्पतालबाट घर जान पाएकोमा भावुक हुँदै धन्यवाद व्यक्त समेत गरिन् ।