चितवनको राप्ती नगरपालिकामा हात्ती आतंक

स्थानीय त्रसित

चितवन , ७ असोज । पुर्वी चितवनको राप्ती नगरपालिका वडा नं ३ पर्सौनीमा डेढ महिनादेखि जंगली हात्तीले उपद्रो मच्चाउन थालेका छन् । प्रत्येक वर्षको यसै मौसममा आउने उक्त जंगली हात्तीको आक्रमणबाट गत भदौ ३ गते कृषक वामदेव मिश्रको खोरसमेत भत्काए पछि स्थानीय चिन्तिन बन्ने गरेका छन् ।
मानवबस्तीमा प्रवेश गरेर सधैँ खेतबारीमा क्षति पुर्‍याउनुको साथै धानबाली समेत नष्ट गरेपछि यहाँका किसानहरु त्रसित बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र शान्ति मध्यवर्ती सामुदायिक वनबाट आउने गरेको हात्तीले दुःख दिन थालेपछि पर्सौनीमा ३० घरधुरीले रातिको समयमा घर छाड्न बाध्य छन् । हात्ती आउने डरले स्थानीय राति अबेरसम्म निदाउँदैनन् । भने हात्तीको आतंकले पीडित बनेका स्थानीय कृषकहरुले आफूले लगाएको खेती सुरक्षित हुनुपर्ने र क्षतिपूर्ती पाउनुपर्ने माग राखेका छन् । उनीहरुले हात्ती छेक्नका लागि २ किलोमिटर आठ फिट अग्लो कंक्रिट पर्खालसमेत तत्काल लगाउन माग राखेका छन् । यता, राप्ती नगरपालिका वर्डा नम्बर ३ का वडा अध्यक्ष राजकुमार उप्रेतीले निकुञ्ज र बस्तीको सिमानामा पर्खाल लगाउन केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिए । जंगली जनावरको आतंक रोक्नका लागि प्रदेश सरकारबाट डेढ करोड र केन्द्र सरकारबाट ५० लाख बजेट विनियोजन गरिएको अध्यक्ष उप्रेतीले बताए ।