चितवन अदालतमा पुराना मुद्दाहरु किनारा लाग्दै ।

चितवन , ३ असोज । चितवन जिल्ला अदालतमा सबैभन्दा पुरानो मुद्दाको किनारा लागेको छ । गोरखा फुजेलका कृष्ण अधिकारीको हत्या सम्बन्धि घट्नाको फैसला भएसँगै अदालतमा पुुुरानो घट्नाको मुद्दा किनारा लाग्दै गएको हो । ०७० चैत ३० गते चितवन अदालतमा दर्ता भएको उक्त मुद्दामा न्यायाधीशहरु विनोदमोहन आचार्य, वासुदेव पौडेल, कविप्रसाद न्यौपाने, टेकनारायण कुँवर र कुलप्रशाद शर्माले हेर्दैआएका थिए । १३ जना प्रतिवादीमध्ये १२ जनाले सफाइ पाएको यो मुद्दामा एक जनालाई भने मुल्तवीमा राखिएको छ । २२औँ पटकको पेशीमा यो मुद्दाको जिल्ला अदालतबाट किनारा लागेको हो । अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार ४ वर्ष ६ महिना पुरानो यो मुद्दा फैसला भएसँगै चितवन अदालतमा अब २ वर्ष नाघेका मुद्दाको संख्या पनि ४ वटामा झरेको छ । उनका अनुसार अब अदालतमा गैँडासम्बन्धी २ वर्ष नाघेका मुद्दाहरु मात्रै रहेका छन् । अदालतका रणनीतिक योजना अनुसार यी मुद्दाहरु पनि किनारा लगाउने तयारीमा अदालत रहेको छ ।
मतपत्र च्यातिएको मुद्दा अझै पेशीमा ।
उता , स्थानीय तहको निर्वाचनको समयमा ०७४ वैशाख ३१ गते भएको भरतपुर महानगरपालिकाको निर्वाचनपछिको मतगणना का क्रममा मतपत्र च्यातिएपछि चितवन अदालतमा २ आरोपित विरूद्ध दायर भएको मुद्दाले अझै किनारा पाउन सकेको छैन । यस घटनापछि सर्वोच्चको फैसलाबाट पुनः मतदान भई भरतपुर महानगरपालिकामा जनप्रतिनिधि छानिएको एक वर्ष कटेको छ । तर, मुद्दा भने अझै पनि अदालतमै रहेको छ । यस मुद्दालाई किनारा लगाउनका लागि न्यायाधीशहरुले आँट गर्न सकिरहेका छैनन् । ०७४ जेठ १७ गते चितवन अदालतमा मतपत्र च्यातेको आरोपमा मधुकर न्यौपाने र द्रोणबाबु सिवाकोटी विरूद्ध मुद्दा दर्ता गराइएको हो । गत भदौ ३१ गते यस मुद्दाको १६औँ पेशी रहेपनि वादीको कानुन व्यवसायीबाट पेशी स्थगित भएको अदालतका सूचना अधिकारी केशव पौडेलले बताए । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ । मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जबर्जस्ती गर्नेलाई एक लाख रूपैयाँ जरिवाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।