खैरहनी नगरपालिकामा गठन भएको न्यायिक समितीले गरेको कामकारबाही : एक वर्षमा २८ मुद्दाको मेलमिलापबाटै छिनोफानो ।

चितवन , ३० भाद्र । पुर्वी चितवनको खैरहनी नगरपालिकामा गठन भएको न्यायिक समितीले बितेको एक वर्षमा २८ मुद्दाको मेलमिलापबाटै छिनोफानो गरेका छन् । नगरपालिकाका उपमेयर सुनिता थपलियाको नेतृत्वमा रहेको समितीले आर्थिक वर्ष ०७४र७५ मा २८ मुद्दाको मेलमिलापबाटै टुङ्ग्याएको हो । एक वर्षमा ३३ मुद्दा दर्ता भएकोमा २८ मुद्दाको छिनोफानो गरी पाँच मुद्दा नगरस्तरीय मेलमिलाप केन्द्रमा पठाइएको उपमेयर थपलियाले जानकारी दिइन् । न्यायिक समितीमा घरजग्गा मिचेको, घरेलु हिंसा, कुलो, साँध–सिमाना, ग्यारेज सञ्चालन, महिला हिंसा, श्रीमान्–श्रीमतीबीचको कलहजस्ता मुद्दा परेका थिए । सम्बन्ध विच्छेदबाहेक अन्य मुद्दालाई न्यायिक समितिले नै मेलमिलाप गरी टुङ्गो लगाउने गरेको उपमेयर थपलियाले बताइन् । ‘सकेसम्म सबै विवाद मिलाउँछौँ’ उनले भनिन्, ‘केही सीप नलागे अदालत पठाउने गरेका छौँ ।’ जनतालाई स्थानीय सरकारको अनुभूति गराउने गरी विवाद मिलाउने गरिएको थपलियाले बताइन् । विवादको प्रकृति, पीडित र पीडकको मनोभावना बुझेर न्यायसम्पादन गर्ने गरेको उनको भनाइ छ । नगरमा रहेको मेलमिलाप केन्द्रले भने गत आर्थिक वर्षमा १०९ विवाद दर्ता भएकोमा १६७ वटा विवाद समाधान भएको नगरपालिकाका नायव सुब्बा बाबुराम जैशीले जानकारी दिए ।दुईवटा प्रक्रियामा रहेको र २४ वटा विवाद क्षेत्राधिकारबाहिर रहेकाले अन्यन्त्र पठाइएको उनले जानकारी दिए । संघीयता कार्यान्वयन भएपछि स्थानीय सरकार सञ्चालन ऐनले मुद्दा हेर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । ऐनले दिएको अधिकारभित्र रहेर न्यायिक समितिले मुद्दाको छिनोफानो गर्दै आएका छन् । स्थानीय सरकारले मुद्दा हेर्ने जिम्मा पाएपछि अदालतमा समेत चाप कम भएको छ । न्यायिक समितिलाई नगरपालिकामा इजलास बनाएरै न्यायसम्पादन गर्ने अधिकार रहेको छ ।