चितवनमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु ।

 

चितवन , ३० भाद्र । पुर्वी चितवनको कालिका नगरपालिका वडा नं ५ स्थित खगेरी पुल नजिककै मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार पदमपुरतर्फ जाने भित्री सडकखण्डमा ना।४२।प। ७५९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना।३५।प। ६४७३ स्कुटर एकआपसमा ठक्कर खाँदा सो दुर्घटना हुँदा ना।४२।प। ७५९० नंको मोटरसाइकल पछाडी बस्ने बारा कलैया नगरपालिका ५ बस्ने बर्ष २२ को सोनु गुप्ताको मृत्यु भएको हो । उपचारका क्रममा उनको साँझ ७ बजेर पाँच मिनेटमा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले बताएको छ । उक्त मोटरसाइकलका चालक भरतपुर महानगरपालिका ३ का २३ वर्षीय अमितकुमार गुप्ताको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा स्कुटी चालक भरतपुर महानगरपालिका १५ की २५ वर्षीया नीलम गुरुङ र पछाडी बस्ने उनकी छोरी नौ वर्षीया प्रसन्ना गुरुङ घाइते भएका छन् । उनीहरुको भने भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
जन्ती बस पल्टिदा एक जनाको मृत्यु ।
उता, भरतपुरबाट पोखरातर्फ जाँदै गरेको ना।५।ख। २ नम्बरको बस तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
विवाहका लागी जन्ती बोकेर जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट करीब पाँच मिटर तल पल्टिदा बसमा सवार चितवन निवासी बर्ष १७ को सन्देश खड्काको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेर चितवन भरतपुर महानगरपालिका निवासी २३ वर्षीय सरोज थापा, नवलपरासी गैडाकोट–४ निवासी २८ वर्षीया शान्ति गुरुङ, सोही ठाउँका २१ वर्षीया गङ्गा थापा, ४३ वर्षीया नरमाया थापा र ५५ वर्षीया दुर्गा पुन घाइते भएका छन् । घाइतेमध्ये सरोजको शुक्लागण्डकी स्थित सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।