चितवनमा मोटरसाईकल र स्कुटर जुध्द्धा एक जनाको मृत्यु, तिन घाईते

चितवन, भदौ ३०–

चितवनको कालिका नगरपालिका वडा नं ५ स्थित खगेरी पुल नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाई हुनगएको दुर्घटनामा परी शुक्रबार एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

भरतपुरबाट पदमपुरतर्फ जाने भित्री सडकखण्डमा ना४२प ७५९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना३५प ६४७३ स्कुटर एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको चितवन प्रहरीले बताएको छ ।

दुर्घटनामा परी ना४२प ७५९० नंको मोटरसाइकल पछाडि बस्ने बारा कलैया नगरपालिका–५ का २२ वर्षीय सोनु गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको उपचारका क्रममा साँझ ७ बजेर पाँच मिनेटको समयमा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उक्त मोटरसाइकलका चालक भरतपुर–३ का २३ वर्षीय अमितकुमार गुप्ताको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा स्कुटी चालक भरतपुर– १५ की २५ वर्षीया नीलम गुरुङ र पछाडि बस्ने उनकी छोरी नौ वर्षीया प्रसन्ना गुरुङ घाइते भएका छन् । उनीहरुको भने भरतपुर अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।