पत्रकार कुटपिटमा सम्लग्न गैंडाकोटका आठ जनप्रतिनिधि विरुद्ध किटानी जाहेरी

नवलपरासी,भदौं २६
पत्रकारमाथी हातपात दुब्र्यवहार गर्ने गैडाकोट नगरपालिकाका आठजना जनप्रतिनिधिविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जायरी परेको छ । जनआस्थाका सम्वाददाता तथा चितवन संवाददाता तथा चितवनबाट प्रकाशन हुने साप्ताहिक पत्रिका जनअर्पण साप्ताहिकका सह सम्पादक पत्रकार अजय गोर्खालीलाई समाचार संकलन गर्ने क्रममा हातपात गर्ने जनप्रतिनिधिविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दर्ता गरिएको हा े।
हातपात लछारपछारमा संलग्न भएको भन्दै गैडाकोट नगरपालिका वडा ३ का वडा अध्यक्ष शिवकान्त तिवारी, वडा ७ का वडा अध्यक्ष चोलानाथ उपाध्याय, वडा १८ का वडा अध्यक्ष तिलबहादुर चितौरे, कार्यपालिका सदस्यहरू सुकबहादुर दराई, कान्छिमाया पुरी, कुमारी रेखा पौडेल, संगीता घिमिरे पण्डित र मेनुका कंडेलविरुद्ध किटानी जाहेरी दर्ता भएको हो। भदौ २२ गते शुक्रबार गैडाकोट नगरपालिकाको कार्यपालिका बैठकमा दोहोरो भत्ता लिने कि नलिने भन्ने विषयमा विवाद भएको भन्ने जानकारी पाएपछि सूचना लिनका लागि नगरपालिका पुगेका पत्रकार अजय गोर्खाली जनप्रतिनिधिबाटै कुटिएका थिए ।
गैडाकोट नगरपालिकामा यसअघि पनि जनप्रतिनिधिले कर्मचारी नियुक्ति गर्दा आफ्नो नजिकका ब्यक्तिलाई नियुक्ति गरेको विषयमा र नगरपालिका उपप्रमुखले नगरपालिकाको गाडी हुँदाहुँदै नगरको गाडी प्रयोग नगरी निजी गाडी भाडामा लिएको विषयमा पनि चर्को विवाद भएको थियो। नगरपालिकाका प्रमुख छत्रराज पौडेलले पत्रकारमाथि आक्रमण हुनु दुखद भएको भन्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन आफू प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।