नारायणगढको नारायणी नदी किनारस्थित नगर वन मार्गमा अटोभिलेज बन्ने

चितवन, भदौ २५–

चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ३ नारायणी नदी किनारस्थित नगर वन मार्गमा अटोभिलेज स्थापना हुने भएको छ । अटोभिलेज निर्माणका लागी महानगरपालिकाले उक्त क्षेत्रमा ३२ कठ्ठा क्षेत्रफलको जमिन उपलव्ध गराउन लागेको हो ।

चितवन अटोमोवाईल्स एशोसियसनको १७ औं वार्षिक साधारणसभा आज (सोमबार) नारायणगढमा भएको साधारणसभामा कार्यक्रममा प्रमुख अतिथी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले नगर वन मार्गमा अटोल्याण्ड स्थापनाको पहलले अब छिट्टै सार्थकता पाउने बताए ।

अटोभिलेज स्थापना पछि ठुला तथा साना सवारी साधनका पाटपुर्जा एवम् मर्मत सम्भार एकै स्थानबााट संभव हुनेछ । अटोभिलेज स्थापनाका लागी उवासंघले संस्थागत रुपमा निरन्तर गरेको पहकलकदमीले यो प्रतिफल प्राप्त भएको अध्यक्ष प्रधानले बताए ।

कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले अटोभिलेज स्थापनाले ब्यवसायलाई व्यवस्थित मात्र नभई उपभोक्ताले समेत राहत महसुस गर्ने बताए ।

कार्यक्रममा अटो मोवाईल्स एशोसियसन नेपालका कोषध्यक्ष सुरेन्द्रकुमार उप्रेती, चितवनका संस्थापक अध्यक्ष निरकुमार पिया, पूर्व अध्यक्ष भिमलाल न्युरे, राप्ती अटो मोवाईल्स एशोसियसनका अध्यक्ष टोपबहादुर कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाले वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरेको एशोसियसनका पूर्व अध्यक्ष बालकृष्ण कंडेलले जानकारी दिए । कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।