फोहोर व्यवस्थापन हुन नसक्दा भण्डारा बजार दुर्गन्धित बन्दै

 


चितवन , १८ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिकामा फोहोर व्यवस्थापन हुन नसक्दा बजार क्षेत्र नै दुर्गन्धित बन्दै गएको छ । राप्ती नगर घोषणा भएको झन्डै तीन वर्ष बितिसक्दा समेत डम्पिङ साइट निर्माण नहुँदा यहाँको लोथर, भण्डारा, खुरखुरे र वीरेन्द्रनगर बजार क्षेत्र नै फोहोरले दुर्गन्धित बन्दै गएको हो । फोहोर संकलन र व्यवस्थापनको जिम्मा लिएको सिन्धु सरसफाइ केन्द्रले महिनाअघिदेखि वडा नं ४ मा जग्गा भाडामा लिएर फोहोर व्यवस्थापनको काम गर्दै आएको थियो । केन्द्रले प्रतिघरधुरी वार्षिक २५० रूपैयाँ लिएर फोहोर संकलन र व्यवस्थापनको काम गर्दै आएकोमा सिन्धुले विगत दुई सातादेखि फोहोर नै नउठाएपछि नगरवासीले चोकचोकमा पुगेर फोहोर फालेका छन् । सरसफाइ केन्द्रले फोहोर उठाउन छाडेपछि फोहोर व्यवस्थापनको समस्या बल्झिएको हो । यता, स्थानीयले भने लामो समयदेखी फोहोर नउठेका कारण भण्डारा बजार दुर्गन्धित बनेको छ नै पसलअगाडि समेत फोहोर थुप्रीदा ब्यापार ब्याबसाय नै ठप्प हुन पुगेको गुनासो गर्छन् । दुई हप्ता देखि नगरपालिका फोहोर उठाउन आएको छैन’, नाम नबताउने सर्तमा एक स्थानीय भन्छन् स् ‘फोहोर गन्हाएर बस्नै नसक्ने अवस्था भइसक्यो ।’ फोहोर उठाउन सक्रियता नदेखाउँदा आउँ, हैजा, पखालाजस्ता रोग व्याप्त हुने सम्भावना देखिएकाले छिटो फोहोर व्यवस्थापन गर्नुपर्ने स्थानीय जोड दिन्छन् ।

जनप्रतिनिधिलाई फोहोर व्यवस्थापन टाउको दुखाइको बिषय बन्दै ।
यता, राप्तीका जनप्रतिनिधिलाई भने फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ । जग्गा अभावका कारण डम्पिङ साइट निर्माण गरी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने जनप्रतिनिधिको प्रयास सफल हुन सकेको छैन । नगरपालिका ले फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि जग्गा खोजी गरिरहेको जनाएको छ । डम्पिङ साइट निर्माणका लागि जग्गा उपलब्ध गराउन नगरपालिकाले तीन विकल्प अघि सारेको छ । निःशुल्क जग्गा पाए स्थानीयको आवश्यकताअनुसार डम्पिङ साइटसँगै विकास निर्माणका काम गर्ने, जग्गा भाडामा लिने वा जग्गा खरिद गर्ने विकल्प अघि सारेको हो । ‘हामीसँग सार्वजनिक जग्गा छैन’, राप्तीका प्रमुख प्रशासकीय अधिकृत मीठाराम हुमागाईंले भने, ‘जग्गा खोज्दा कतै पाइँदैन ।’ नगरपालिकाले तीन विकल्प अघि सार्दा पनि जग्गा दिन कोही तयार नभएकाले समस्या आएको प्रमुख प्रशासकीय अधिकृत हुमागाईं बताउँछन् । उनी भन्छन्, ‘हामीले दुई ठाउँमा जग्गा हे¥यौँ, तर त्यहाँ पनि स्थानीय समुदाय सकारात्मक हुनुभएन ।’ राप्तीमा दैनिक करिब ७ टन फोहोर जम्मा हुन्छ । १३ वडा रहेको राप्तीमा ४ वडा पहाडी क्षेत्रमा पर्छन् । बजार र राजमार्ग क्षेत्रमा पर्ने वडाहरुमा फोहोर व्यवस्थापन नहुने हो भने त्यसले अझै समस्या निम्त्याउने हुमागाईंको भनाइ छ । राप्तीको तेस्रो नगरसभाले फोहोर व्यवस्थापनका लागि ५ लाख रूपैयाँ विनियोजन गरेको छ । जग्गा उपलब्ध भए बजेटको समस्या नहुने प्रमुख प्रशासकीय अधिकृत हुमागाईं बताउँछन् ।