कर वृद्धिको बिरोधमा कांग्रेसको बिरोध , ज्ञापनपत्र बुझाइयो।

चितवन , ६ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिकाले अस्वाभाविकरुपमा जनताको ढाड सेक्ने गरि करको वृद्धि गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । नेपाली कांग्रेस राप्ती नगर समितिले वृद्धि गरेको कर समायोजन गर्नुपर्ने माग गर्दैै राप्ती नगरपालिकालाई ज्ञापनपत्र समेत बुझाएको छ । नेता÷कार्यकर्ता सहित नगरपालिका पुगेको कांग्रेसले मेयर प्रभा बराललाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र हस्तान्तरण गर्दै नगर सभापति नारायण उप्रेतीले वृद्धि गरिएको कर तत्काल समायोजन हुनुपर्ने बताए । मेयर बरालले नगरको समृद्धिका लागि केही कर वृद्धि भएको भए पनि त्यसले नगरवासीलाई असर नगर्ने बताइन् । ‘हामीले नगरवासीले तिर्न नसक्ने गरी कर लगाएका छैनौँ’, उनले भनिन्, ‘भर्खरै स्थापना भएको नगरपालिकाले विकासकै लागि केही न केही कर लगाउनैपर्छ ।’ कांग्रेसले कर वृद्धि फिर्तासँगै नगरपालिकाले पक्षपात ढंगले काम गरेको, उपभोक्ता समितिलाई कागजमा सीमित राखेर ठेक्कापट्टामार्फत काम गर्ने गरेको, जनताको अपेक्षाअनुसार काम गर्न नसकेको लगायत ११ बुँदामा असहमति समेत जनाएको छ ।