रत्ननगर नगरपालिकामा बनेको न्यायिक समितिद्वारा ९ महिनामा ३४ वटा मुद्दा फैसला

६ भाद्र । रत्ननगर नगरपालिकामा बनेको न्यायिक समितिले ९ महिनामा ३४ वटा मुद्दा फैसला गरेको छ । स्थानीय तहको निर्वाचनपछि पहिलोपटक उपमेयर विमला दुवाडीप्रनिश को नेतृत्वमा न्यायिक समितिले श्रीमानश्रीमती विवाद, जग्गाको साँध–सिमाना, अंशबन्डा लगायतका ३४ वटा मुद्दा मेलमिलापबाटै फैसला गरेको हो । नगरस्तरमा रहेको मेलमिलाप केन्द्रले टुङ्ग्याउन नसकेको ३४ वटा मुद्दा न्यायिक समितिले फैसला गरेको हो । उता , पार्वती न्यौपानेले नेतृत्व गरेको मेलमिलाप केन्द्रले भने आर्थिक वर्ष २०७४÷०७५ मा १५० वटा मुद्दा मेलमिलापबाटै टुङग्याएको छ । ‘केन्द्रले मिलाउन नसकेको मुद्दा न्यायिक समितिमा आउँछ’, संयोजक दुवाडीले भनिन्, ‘हामीले ९० प्रतिशत मुद्दा मेलमिलापबाटै समाधान गर्ने गरेका छौँ ।’ सम्बन्धविच्छेदका मुद्दामा सकेसम्म मेलमिलाप गराउने र केही उपाय नलागेमात्र अदालत पठाउने गरिएको उनले बताइन् । ‘सम्बन्धविच्छेद गराउन आएका श्रीमानश्रीमती पनि सहमति गराएर पठाएका छौँ’, उनले भनिन्, ‘यो हाम्रो ठूलो सफलता पनि हो ।’ न्यायिक समितिमा मुद्दाको चाप बढ्न थालेपछि नगरपालिकाले इजलास बनाएर कार्य सम्पादन गर्न थालेको छ । इजलासमा दुवै पक्षलाई बोलाएर बहस गरेपछि मेलमिलाप गराउने गरिएको संयोजक दुवाडीले बताइन् । न्यायिक समितिमा संयोजक दुवाडीसँगै सदस्यहरु प्रेम प्रसाद रेग्मी र बाबुराम गौतम रहेका छन् । रत्ननगरमा वडास्तर मा पनि मेलमिलाप समिति गठन गरिएको छ । वडास्तरमा मिलाउन नसकेको मुद्दा नगरस्तरमा रहेको केन्द्रमा आउने र सो केन्द्रले पनि मिलाउन नसकेमा न्यायिक समितिमा जाने व्यवस्था मिलाइएको छ । मेलमिलाप केन्द्रमा दैनिक ५ वटा मुद्दा पर्ने गरेको अध्यक्ष पार्वती न्यौपानेले बताइन् । रत्ननगरमा मेलमिलाप केन्द्रले २०६० साल तथा न्यायिक समितिले २०७४ साल मंसिर महिनाबाट न्यायसम्पादनको काम सुरू गरेको हो ।