क्याम्पसले बढाएको प्रवेश परीक्षा शुल्क घटायो ।

चितवन , ५ भाद्र । चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसले बढाएको प्रवेश परीक्षा शुल्क घटेको छ । विद्यार्थी संगठन आन्दोलनमा उत्रिए पछि कलेज प्रशासनले बाध्य भइ शुल्क घटाउने अवस्थामा पुगेको हो । कलेजले टियुले निर्धारण गरेको शुल्कमा फेरबदल गर्दै आफूखुशी शुल्क निर्धारण गर्नुलाई विद्यार्थीले भ्रष्टाचारको संज्ञा दिएका छन् । टियुले निर्धारण गरेको शुल्कमा सयदेखी पाँच सयदेखी रुपैयाँसम्म बढाइएको थियो । बिबिएको प्रवेश परीक्षा शुल्क पाँच सयबाट बढाएर १ हजार, विएससी सिएसआइटीको प्रवेश परीक्षा शुल्क १२ सय बाट बढाएर १३ सय, बिसिएको शुल्क १२ सयबाट बढाएर १३ सय तथा बिएसीको परीक्षा शुल्क ८ सय ५० बाट १ हजारसम्म पुर्‍याएको थियो । परीक्षा शुल्कमा मनोमानी तरिकाले  बढाएको भन्दै आन्दोलित विद्यार्थीसित कलेज प्रशासनले बार्ता समेत गरेको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) वीच कलेेज प्रशासनसंँग भएको वार्ता पछि क्याम्पसमा संचालित विभिन्न संकायको प्रवेश परिक्षा शुल्क त्रिविले निर्धारण गरे अनुसार नै गर्ने सहमती भएको हो । सहमती अनुसार कलेजका सम्पूर्ण शाखाहरुमा विद्यार्थीका लागि आवश्यक सेवा सुविधा चुस्त दुरुस्त राख्न एकसाताभित्र आवश्यक कर्मचारी सहित शाखा प्रमुखको व्यवस्था गर्ने लगायत रहेको छ । कलेजमा सञ्चालित विभिन्न कार्यक्रमको प्रष्ट विवरण झल्कने गरी नागरिक वडापत्रको व्यवस्था गर्ने सहमती समेत भएको अनेरास्ववियुका अध्यक्ष लिलाराम पौडेलले जानकारी दिए ।