चितवनका सुनचाँदी व्यवसायी आन्दोलित बने

भाद्र ४ र ५ गते सबै सुनचाँदी पसल बन्द हुने

चितवन, भदौं ४–

नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखा आन्दोलित भएको छ । उपभोक्ताको माग बमोजिम सुन नपाएपछि संघ आन्दोलनमा उत्रिएको हो । संघले सांकेतिक विरोध स्वरुप भोलि (मंगलबार) र बुधबार दुई दिन चितवनका सबै सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेको छ ।
आज (सोमबार) अपरान्ह नारायणगढमा पत्रकार सम्मेलन गरी राज्यलाई आफूहरुको माग बारे दवाब दिन दुई दिन पसल बन्द गर्ने निर्णय भएको संघका अध्यक्ष जिबनज्योती सदाशंकरले जानकारी दिए ।

संघका अध्यक्ष सदाशंकरले सरकारसंग पटक–पटक माग बमोजिम सुन उपलब्ध गराउन आग्रह गरिएपनि कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । उनले चाँडबाडको बेला सुनको माग झनै बढेकोले सरकारलाई दवाब स्वरुप पसल बन्द गर्न लागिएको जानकारी दिए ।
व्यवसायीहरुले नेपाल राष्ट्र बैंकको सिण्डिकेटका कारण यो समस्या आएको आरोप लगाएका छन् । राष्ट्र बैंकले चितवनमा सातामा २ केजी मात्रै सुन उपलब्ध गराउने गरेको छ । तर यहाँको माग ५ केजीसम्म भएकोले बजारमा सुन अभाव भएको ब्यबसायीहरु बताँउछन् ।
सुनचाँदी व्यवसायी ज्ञानेन्द्रमान शाक्यले राष्ट्र बैंकको सिण्डिकेट नतोडिएसम्म यो समस्या जारी रहने बताए । उनले भने–“राष्ट्र बैंकको सिण्डिकेटले सारा सुनचाँदी व्यवसायी मारमा परेका छन, सरकारले यस तर्फ सोच्नु पर्छ ।” व्यवसायीहरुले बैधानिक रुपमै सुनचाँदी किन्न खोज्दा पनि किन्न नपाउनु दुर्भाग्य भएको बताए । उनले सुन प्रयाप्त उपलब्ध नहुँदा ग्राहकहरुलाइ अहिले सुन उपलब्ध गराउन नसक्ने अवस्था रहेको बताए ।
राष्ट्र बैंकले चितवनमा दैनिक २० केजी सुन भित्र्याउने गरेको छ । तर साप्ताहिक रुपमा वितरण गर्ने गरेको छ । खुद्रा रुपमा सुन नदिँदा पनि साना व्यवसायीहरु बढि मारमा पर्ने गरेका छन् । चितवनमा करिव ५ सय सुनचाँदी पसलहरु रहेका छन् ।