देवचुलीमा निशुल्क आँखा तथा मुटु शिविर


दलदले, २२ साउन
विभिन्न संघसंस्थाहरुको आयोजनामा पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा निशुल्क आँखा तथा मुटु शिविर गरिएको छ ।
देवचुलीको नगरपालिकाको रामबासमा रहेको भीमसेन आदर्श माविमा आयोजना गरिएको आँखा शिविरबाट तीन सय ३० जना विद्यार्थी तथा मुटु शिविरबाट एक सय जना विद्यार्थी लाभान्वित भएका छन् । लायन्स÷लियो क्लब अफ नारायणगढ बालकुमारी, हार्ट फाउन्डेशन नेपाल, राष्ट्रिय मुटु तथा फोक्सो समाज नेपाल, रोट्रयाक्ट क्लब अफ भरतपुर र युथ फर चेन्ज नेपालको आयोजनामा मंगलबार शिविरको आयोजना गरिएको थियो । वरिष्ठ मुटु रोग विशेषज्ञहरु डाक्टर शंकर लौडारी र डाक्टर कौशल तिवारीले मुटुको परीक्षण गरेका थिए भने भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेको टोलीले आँखा परीक्षण गरेका थिए ।
मंगलबार भएको शिविरमा एक जना विद्यार्थीको मुटुको शल्यक्रिया गर्नुपर्ने बिरामी भेटिएकोले उनको उपचारको लागि आफूले प्रयास गर्ने मुटुरोग विशेषज्ञ कौशल तिवारीले बताए । आफू भारत गएर अप्रेशनको लागि चाहिने उपकरण ल्याएर चितवन मेडिकल कलेजमा ती विद्यार्थीको शल्यक्रिया गरिदिने तिवारीको भनाइ छ । त्यस्तै, आँखा शिवरबाट चार जना विद्यार्थीलाई भरतपुर आँखा अस्पताल रिफर गरिएको छ ।
दुई जनाको आँखा डेरो पाइएकोले उनीहरुलाई तिलगंगा आँखा अस्पतालबाट डाक्टर बोलाएर भरतपुरमा नै निशुल्क रुपमा शल्यक्रिया गर्ने व्यवस्था मिलाइने लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले बताए । कार्यक्रम पश्चात भीमसेन आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको छ । लायन्स क्लब अफ नारायणगढ नारायणीका अध्यक्ष तथा नारायणी मोटर्सका सञ्चालक अनुषा चुकेले एक जना विद्यार्थीलाई एक वर्ष बराबरको छात्रवृत्ति प्रदान गरेकी हुन् ।