स्वास्थ्य बिमा गर्न कर्मचारीलाई भरतपुर अस्पतालको निर्देशन

चितवन , २९ असार । आमसर्वसाधारण जनतालाई स्वास्थ्य बिमा गराउँदै आएको भरतपुर अस्पतालले आफ्ना कर्मचारीलाई पनि स्वास्थ्य बिमा गर्न निर्देशन दिएको छ । नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमाका लागि अस्पतालमा कार्यरत कर्मचारीलाई बिमा गराउन खोजिएको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेल बताउनुहुन्छ । ‘नेपाल सरकारको नीतिलाई अवलम्बन गराउँदै कर्मचारीलाई पनि बिमा गर्न आग्रह गरिएको हो’, उहाँ भन्नुहुन्छ कर्मचारीको स्वास्थ्य बिमा गराउने सरकारी नीति छ । यसअघि नै नेपाल सरकारको स्वास्थ्य सेवा ऐन तथा अस्पताल प्रशासनको नियमावली अनुसार अस्पतालमा कार्यरत कर्मचारी र उनका परिवारले छूट सुविधा पाउने व्यवस्था छ । अस्पतालमा कार्यरत कर्मचारीलाई ९० प्रतिशत र परिवारका सदस्यलाई ५० प्रतिशत छूटको व्यवस्था गरिएको छ । कर्मचारीकै सुविधाका लागि बिमा गर्न आग्रह गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। रविन खड्काले जानकारी दिनुभयो । ‘पहिलो चरणमा हामीले कर्मचारीलाई बिमा गर्न आग्रह गरेका छौँ’, उहाँले भन्नुभयो, ‘नेपाल सरकारले ल्याएको बिमा कार्यक्रमको नीति लोकप्रिय र मह¤वपूर्ण कार्यक्रम हो, यसमा सबै समाहित हुन जरूरी छ ।’। मेसु डा। खड्काका अनुसार सबै कर्मचारीलाई अनिवार्य बिमा गराउने तयारी भइरहेको छ । कर्मचारीलाई दिने छूटबाट अस्पतालले ठूलो आर्थिक भार खेप्दै आएकोले बिमा गरेपछि अस्पताल र बिरामी दुवैलाई आर्थिक भार कम हुने उहाँको भनाइ छ । अस्पतालका लेखा अधिकृत हरिहर शर्मा तिवारीका अनुसार भरतपुर अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी सहित करिब ५ सय कर्मचारी कार्यरत छन् । तीमध्ये आधाभन्दा बढी अस्पताल विकास समिति अन्तर्गत काम गर्दै आएका छन् ।