ट्राफिक ब्याबस्थापनमा जोड दिन सरोकारवालाहरुको माग ।

 

६ असार , चितवन । ट्राफिक एवं अटोल्यान्ड व्यवस्थापन समितिको आयोजनामा एक दिने अन्तर्क्रिया तथा छलफल कार्यक्रम उद्योग बाणिज्य संघको सचिवालयमा सम्पन्न भएको छ । संंघका कार्यसमिति सदस्य एवम् ट्राफिक एवम् अटोल्यान्ड व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका ज्ञानुप्रसाद न्यौपानेले ट्राफिक व्यवस्थापनको समस्या तथा अटोल्यान्डको व्यवस्थापन समयमा हुन नसक्दा दिनानुदिन ट्राफिकजन्य घटनाहरु बढ्दै गएकोेले उक्त समस्या न्यूनीकरण का लागि छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताए । उनले महानगरपालिकाको मुख्य बजार नारायणगढ क्षेत्रमा पार्किङको समस्या भएकोले यात्रुलाई पिक एन्ड ड्रपको माध्यम बाट यातायात सञ्चालन गर्नुपर्ने र सोको लागी अटोल्यान्डको व्यवस्थापनको बारेमा गृहकार्य समेत भइरहेको बताए । यस्तै , चितवन अटोमोबाईल यशोसिएशनका अध्यक्ष एवं समितिका सदस्य कृष्णप्रसाद काफ्लेले चितवनमा अटो भिलेजको परिकल्पना ल्याएको वर्षौं भइसक्दा पनि ठोस उपलब्धी हुन नसकेको बताए । तर, यसका लागि जग्गा पहिचान भइसकेको अवस्थामा सम्बन्धित निकायहरुसँगको सहकार्यमा छिट्टै समस्याको समाधान हुने आशा व्यक्त गरे । सोही कार्यक्रममा बोल्नुहुँदै जिल्ला ट्राफिक प्रहरी कायार्यलय भरतपुरका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जिल्लाको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी अनवरत रुपमा लागिरहेको बताउँदै यसलाई अझ बढी प्रभावकारी बनाउन सबैको रायसुझावको अपेक्षा गरेको बताए । उनले जिल्लाको वैज्ञानिक ढंगको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण आफ्नो प्रमुख उद्देश्य भएको बताउँदै यसका लागि सबैको सहयोगको अपेक्षा राखेको बताए । कार्ययक्रममा चितवन अटोमेकानिक व्यवसायी संघका अध्यक्ष रामबहादुर लोहनी, समितिका सदस्यहरु नवीन खड्का, उमानाथ तिमिल्सिना, अमृत जोशीलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए भने, समितिका संयोजक ज्ञानुप्रसाद न्यौपानेको अध्यक्षता एवं उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।