चितवनमा मिल्क होलिडे हुने संकेत

डेरी उद्योगले किसानको दुध लिन मानेनन्

चितवन,जेठ २ / किसानहरुले उत्पादन गरेको दुध डेरी उद्योगहरुले उठाउन आलटाल गरेपछी चितवनका किसानहरु चिन्तित बनेका छन् । दुध डेरी उद्योगका कारण मिल्क होलीडे हुने संकेत देखिएको किसानहरुले बताएका छन । बिभिन्न दुध डेरी उद्योग एवम् कम्पनीहरुले दैनिक उठाउदै आएको दुध पछिल्लो समय लिन आलटाल गर्ने गरेका छन् ।

दुग्ध उत्तपादक सहकारी संस्था मार्फत डेरी उद्योगहरुले उठाउने गरेको दुध विभिन्न बाहाना बनाउदै लिन छाडेका छन् । दुधको बजारिकरणमा देखिएको समस्याका बिषयमा आज ९बुधबार० रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै किसानहरुले यस्तो कुरा बताएका हुन् ।

भारतबाट आउने पाउडर र कच्चा दुधका कारण नेपालका किसानहरुले उत्पादन गरेको दुध उठाउन डेरी उद्योगले आनाकानी गर्ने गरेको दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय सदस्य भगिरथ तिमल्सिनाले बताए । “चैत्र देखि जेठ सम्म अफसिजन भएपनि उत्पादित दुध बिभिन्न बहानाका कारण लगिएको छैन,उनले दुखेसो पोखे ।”

चितवनमा दैनिक ३ लाख लिटर दुध उत्पादन हुने गरेको छ । चितवनमा उत्पादन भएको दुध काठमाडौंका खरिपाटी डेरी, तुलसा डेरी,आधुनीक डेरी लगाएतका करिब ३ दर्जन नीजि र सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले खरिद गरि लैजाने गरेका छन् ।

व्यवसायीक पशुपालक कृषक समाज एवम नगर स्तरिय दुग्ध उत्पादक सहकारी समन्वय समिति रत्ननगरका अध्यक्ष किशोर वगालेले डेरी उद्योगले सहज रुपमा दुध लैजान नमानेको र दुधको भुक्तानी समेत समयमै उपलब्ध नगराएको गुनासो गरे । भारतबाट आयात भएका दुग्धजन्य पदार्थका कारण फेरीपनि नेपालमा मिल्क होलीडे हुने संकेत देखिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् । “हाल नेपालमा दैनिक ४ लाख लिटर दुध अपुग भएको भनिने गरेपनि देशभित्रनै उत्पादन भएको दुधले बजार नपाउने अबस्था आएको छ, बगालेले भने, किसानहरु बाध्य भएर आन्दोलन गर्ने अबस्थामा पुगेका छन् ।”केही डेरी उद्योगहरुले जेठ १ गतेबाट दुध उठाउन नसक्ने भन्दै सहकारी संस्थालाई पत्राचार समेत गरेको उनको भनाई थियो ।

नगरस्तरिय दुग्ध उत्पादक शहकारी संस्थाका अध्यक्ष शिबकान्त पौडेलले किसानको समस्या सधै ओझेलमा परेको भन्दै लागत मुल्य घटाए र उत्पादनमा बढावा दिने खालको नीति ल्याउन सरकारसंग माग गरे । देशको विभिन्न क्षेत्रमा मिल्क होलीडेको प्रभाब परिसकेको र चितवन लगाएत देशैभर यो समस्या देखा पर्दै गएको उनको दावी छ ।

किसानलाई परेको समस्याहरु समाबेश गरी नेपाल सरकार, कृषि तथा भूमि सुधार मन्त्रालयमा ७ बुदे ज्ञापन पत्र समेत पेश गर्न लागेको किसानहरुले बताएका छन् । सो ज्ञापन पत्र चितवनका सबै नगर र गाँउपालिका साथै सम्बन्धित सबै सरोकारवला समक्ष पनि पेश गर्ने उनिहरुले जानकारी दिए । किसानका समस्या सुनुवाई नभएमा आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन ।