काम छाडेर नगरपालिकाका कर्मचारी सांस्कृतिक कार्यक्रम हेर्न गएपछि …

चितवन ०२ जेष्ठ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी सहित कर्मचारीको टोली नै माडी–७ देवेन्द्रपुर नजिकैको एक मन्दिरमा मंगलबार आयोजित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएपछि माडी नगरपालिकाका कर्मचारीप्रति स्थानीयबासिन्दा आक्रोशित बनेका छन् । आर्थिक वर्ष अन्त्यतिर भएकाले योजना सम्झौता, भुक्तानी लगायतका फाइल सहित पुगेका उपभोक्ता समितिका पदाधिकारी दिनभरी पर्खाइमा बसेका थिए । लामो विदामा रहेका जैसी आइतबार कार्यालयमा हाजिर हुने भनिएपनि मंगलबारमात्रै काठमाडौंबाट माडी पुगेका थिए । कार्यालय आएलगत्तै दिउँसो २ बजे अन्य १० जना कर्मचारीलाई लिएर उनी दुई वटा कोठामा ताला लगाएरै सांस्कृतिक कार्यक्रम हेर्न पुगेका थिए । पौने ४ बजे प्रशासकीय अधिकृत सहितको टोली आइपुगेपछि स्थानीय सेवाग्राही आक्रोशित बनेका थिए । “योजना कार्यान्वयन गर्ने अवधि सकिदै छ । फाइल लिएर हप्तौसम्म धाउनुपर्ने बाध्यता छ”, एक स्थानीयले भने, “कहिले विदा, कहिले कार्यालयबाहिर हुँदा सेवा लिनै सकस भयो ।”सेवग्राही मंगलबार झण्डै २ दर्जन फाइल रुजु गराउन बसेका थिए । उनका अनुसार प्रशासकीय अधिकृतले यसअघिपनि कार्यसम्पादनमा हेलचक्र्याइँ गर्ने, फाईल हेर्नै नमान्ने जस्ता गतिविधी गर्दै आएको बताए । ‘जनताको काम नगरी हिँड्ने’ भन्दै आक्रोशित भीडले मूलगेटमै घेरेको थियो । लगत्तै कार्यक्रममा सहभागी हुन पुगेका मेयर उपमेयर कार्यालयमा आएपछि स्थानीयले गुनासो सुनाएका थिए । “दिनभरी कुर्नुपरेपछि स्थानीय रिसाउनु स्वभाविक हो”, उपमेयर ताराकुमारी काजी महतोले भनिन्, “जनताको काम गर्नुपर्छ । कार्यालयनै खाली बनाएर हिँड्ने छुट कुनै कर्मचारी लाई छैन ।” उनले कार्यलय समयमा बाहिर किन गएको भनेर मेयरले स्पष्टिकरण मागेको जानकारी दिइन् ।”