चितवनमा दैनिकजसो सवारी दुर्घटना

बैशाखमा मात्रै ९ जनाको ज्यान गयो, ७४ जना घाईते

                                                                        फाईल फोटो
चितवन, जेठ १–
चितवनमा प्राय : दैनिकजसो सवारी दुर्घटना हुने गरेको पाईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सार्बजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा बैशाखमा मात्रै २८ वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् ।
२०७५ वैशाख महिनामा जिल्लामा भएका साना तथा ठूला २८ वटा दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् भने ७४ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यो सँख्या गत वर्ष वैशाखमा मृत्यु हुनेको संख्याको तुलनामा कम हो । तथ्याङ्क अनुसार मृत्यु हुनेको संख्यामा कमी आएपनि दुर्घटना संख्या भने बढेको देखिन्छ । गत वर्ष २०७४ को वैशाख महिनामा २३ वटा मात्रै दुर्घटना भएका थिए भने सो दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका थिए । यस्तै दुर्घटनामा ४८ जना मात्रै घाईते भएका थिए । चालु आर्थिक वर्ष २०७४ र ७५ को वैशाख सम्ममा २ सय २३ सवारी दुर्घटनामा परेका छन् । ती दुर्घटनामा परी १०६ जनाको मृत्यु भएको छ भने ४४५ जना घाईते भएका छन् ।
यस्तै ट्राफिक प्रहरीले वैशाख महिनामा मापसेका ७८ र ४ हजार ५ सय ५० वटा अन्य सवारीलाई कारवाही गर्दै ३२ लाख ८७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्षको यहि समयमा मापसेका ९० र अन्य ३ हजार ५ सय सवारीलाई कारवाही गर्दै ट्राफिक प्रहरीले २४ लाख ८६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो । ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०७४ र ७५ को वैशाख सम्ममा मापसे र अन्य सवारीलाई कारवाही गर्दै दुई करोड ५७ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन गरि सकेको कार्यालयले जारी गरेको ट्राफिक अपडेटमा जनाईएको छ ।