रुद्रराज कँडेलको लोक भजनसंग्रह लोकार्पण

बैशाख २९, भण्डारा । कवि तथा गीतकार रुद्रराज कँडेलको पछिल्लो कृति लोक भजनसंग्रह लोकार्पण गरिएको छ । भण्डारामा एक कार्यक्रमका बीच कँडेलको लोक भजन संग्रहको बरिष्ठ साहित्यकार केशवराज आमोदिले बिमोचन तथा लोकार्पण गरे । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि आमोदिले भण्डाराकै स्थानिय कँडेलले साहित्य तथा संगीतमा गरिरहेको संघर्षको तारिफ गरे । उनले चितवनमा यस्ता मिहेनति स्रष्टा हुनु गर्वको कुरा भएको बताए । कार्यक्रममा कँडेलले लोक भजनसंग्रह यसअघि आफुले प्रकाशन गरेको दर्जनौ कृतिभन्दा परिस्कृत र उत्कृष्ट रहेको बताए । मौलिक परिवेशका शब्दहरु समेटिएको कृतिमा विभिन्न भजन तथा लोकलयमा आधारित सिर्जनाहरु रहेको उनले बताए । कार्यक्रममा सहभागि महकाव्यकार इश्वरी ओझा, राप्ती साहित्य समाजका अध्यक्ष गिरिराज डल्लाकोटि, गजलकार कमल अर्याल धादिङगे, साहित्यकारहरु चेतनाथ रुवाली, हरिप्रसाद गजुरेल, रामशरण थपलिया लगायतले रचना बाचनसँगै कँडेलको कृतिमाथि समिक्षा गरेका थिए । त्यस्तै गायक जोन लामा तथा गायिका बालिका तामाङले कँडेलकै शब्द तथा लय सिर्जनामा रहेको पछिल्लो लोक दोहोरि गीत ‘तिमी र म सिजी घुम्न जाऊ’ गाएर मनोरञ्जन प्रदान गरेका थिए । राप्ती नगरपालिका ५ मा रहेको कालिका अटो प्वइन्टको सहयोगमा आयोजित कार्यक्रम पृथक साहित्य समाज चितवनका अध्यक्ष राजेन्द्र घायलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कवि तथा गीतकार कँडेलले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।