यातायात मन्त्रालय र व्यवसायीबीच सिण्डिकेट अन्त्य गर्न पाँचबुँदे सहमति

काठमाडौँ, वैशाख २४–

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायी महासंघबीच यातायात क्षेत्रको (सिण्डिकेट) अन्त्य गर्ने विषयमा पाँचबुँदे सहमति भएको छ ।

मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यातायात क्षेत्रमा रहेका जुनसुकै प्रकारको एकाधिकार (सिन्डिकेट)को स्वरुप खारेजी गर्ने सहमति भएको जानकारी गराइयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको उपस्थितिमा आइतबार बेलुकी मन्त्रालयमा भएको वार्ताले सहमति जुटाएको हो ।

प्रचलित कानून अनुसार एउटा मात्र सार्वजनिक सवारी भएका धनीले पनि यातायात सञ्चालन गर्न पाउने र सर्वोच्च अदालतले परमादेश जारी गरेअनुसार यातायात क्षेत्रलाई व्यवस्थित बनाउन जाँचबुझ आयोग गठनको प्रक्रिया छिटो अघि बढाउने सहमति भएको छ ।

यातायात व्यवसायीको संयुक्त आन्दोलन मूल समितिले घोषणा गरेका सम्पूर्ण कार्यक्रम फिर्ता लिन दुवै पक्ष सहमत भएका छन् । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन ३० दिनभित्र प्रतिवेदन दिने गरी कार्यदल गठन गर्ने सहमतिसमेत भएको छ ।
महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले व्यवसायीले एकाधिकार नभई आलोपालो प्रणालीका आधारमा यातायात सञ्चालन गरेको दाबी गरेका छन् । महासंघ र यातायातका कुनै पनि संस्था खारेज नभएको उनको दाबी थियो ।

महासंघ र यातायात संस्थाका खाता बन्द गरिएकाले आजदेखि भएका दुर्घटनाका घाइतेको उपचार व्यवसायीले नगराउने महासंघले जनाएको छ । हाल दुई लाख सार्वजनिक यातायात सडकमा गुड्छन् । नयाँ र पुरानो बसपार्क व्यवस्थित नभए सडकबाटै सवारी चलाउने अध्यक्ष कर्माचार्यले बताउनुभयो ।