प्रचण्ड हुकांर–झुकेर एकता गरिन्न, ‘जनयुद्ध’ पनि छाडिन्न

काठमाडौं, २४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको एकता झुकेर नहुने बताएका छन् । वाइसिएलको केन्द्रीय स्कुलिङ विभागले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा उनले ‘जनयुद्ध’ शब्द पनि नछाड्ने उद्घोष गरे ।

‘माओवादी नेता कार्यकर्ता, माओवादी आन्दोलन अपमानित हुने गरी एकता हुँदैन’, प्रचण्डले भने, ‘यसो गर्नु भनेको देशलाइ अप्ठ्यारो पर्नु हो । जसले जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एकता हुन सक्दैन।’

उनले आफूहरुको क्रान्ति अधुरो–अपुरो भएको भन्दै प्राप्त उपलब्धिलाई जोगाउँदै अघि बढ्नुपर्ने बेला आएको बताए । ‘हामी पूर्ण बिजय नभएपनि हारेका चाहीँ होइनौं’ उनले भने । युवालाई नीति निर्माणमा नल्याए देश दुर्घटनामा पर्ने भन्दै वाइसिएलको नयाँ कार्यसमितिले मूल नेतृत्वको स्पिड जोगाउन पहल गर्नुपर्ने बताए ।

प्रचण्डले सहिद, बेपत्ता र घाईतेको उचित व्यवस्थापन गरिने समेत बताए । पार्टीको भूमिका संख्यात्मक रूपमा कमजोर भएपनि गुणात्मक रूपमा र सारमा माओवादीको मुद्दाको विजय भएको भन्दै युवाहरुको उत्साहप्रति सकारात्मक रहेको बताए ।

कार्यक्रममा माओवादी नेता एवं गृहमन्त्री रामबहादुर थापाले विकास र सम्वृद्धि ल्याउन दलाल पुजीपतिलाई निस्तेज गर्नुपर्ने बताए । हुन्डी, मदिरा तस्करी, मानव तस्करी, बैदेशिक रोजगारमा ठगि, गुन्डा, डनहरुलाई सखाप पार्न वाइसिएलले पनि साथ दिनुपर्ने उनको भनाई थियो ।