जबरजस्ती धर्मप्रचार गर्न खोज्ने चितवनकी फूलदेवी सहित तीन महिला पक्राउ

काठमाडौं,२४ बैशाख । जागिर लगाइदिने भन्दै जबरजस्ती धर्मप्रचार गर्न खोज्ने तीन महिला काठमाडौंमा पक्राउ परेका छन् । एनजिओमा जागिर लागइदिन्छु भन्दै क्रिश्चियन बनाउन खोजेको आरोपमा कास्की घर भई सीतापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकीकी ३६ वर्षीया राधिका महर्जन र चितवनकी फूलदेवी भट्टराईलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेको हो।

चितवनकी लक्ष्मी भट्टराईको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरी मुलुकी ऐनअनुसार कारबाही अघि बढाइएको परिसरका डिएसपी मोहन थापाले बताए।

गत बैसाख १५ गते सीतापाइलास्थित चर्चमा लगेर पीडित भट्टराईलाई बइबल पाठ सुनाउँदै धर्म परिवर्तन गर्न लगाइएको थियो। धर्म परिवर्तन गरेमात्र जागिर लगाइदिने आश्वासन दिइएको थियो।उनले धर्म परिवर्तन गर्न नमानी प्रहरीमा जाहेरी दिएकी हुन्।

पक्राउ परेकालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद दिएको डिएसपी थापाले बताए।