राप्तिमा आदिवासी जनजातिको संस्कार सुधार सचेतना कार्यक्रम सम्पन्न

बैशाख २०, भण्डारा । राप्ति नगरपालिका वडा नं. ११ कोराकमा आयोजित ३ दिने आदिवासी जनजातिको संस्कार संस्कृति सुधार सचेतना कार्यक्रम सम्पन्न भएको छ । मंगलबारबाट सुरु भएको कार्यक्रमको बिहिबार एक कार्यक्रमका बीच समापन गरिएको हो । वडा नं. ११ का अध्यक्ष हित बहादुर तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य गोमन सिं लामा, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमले आफ्ना हकहितका लागि हरेक आदिवासी जनजातिलाई बोल्न प्रेरणा दिएको बताउदै प्रमुख अतिथि तामाङले वडाले यस्ता कार्यक्रमका लागि सधै सहयोग गर्ने बताए । त्यस्तै आदिवासीको परिचय, अधिकार, उपलब्धि तथा चुनौतिका बिषयमा सर्वसाधरणलाई प्रशिक्षण दिइएको तामाङ घेदुङका केन्द्रिय सदस्य तथा प्रशिक्षक गोमन सिं. लामाले जानकारी दिए । आदिवासी जनजाति संस्कार संस्कृति सुधार जनचेतना कार्यक्रम आयोजक समितिका अध्यक्ष हिरालाल बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरुले सिकेका कुराहरु दैनिक जीवनमा उपयोगि हुने बताए । ३ दिने सचेतना कार्यक्रममा आदिवासी जनजातिको संस्कारमा देखिएको बिकृति, सुधारका प्रयास, सञ्चारमाध्यममा आदिवासी जनजातिको पहँुच लगायत बिषयहरुमा नेपाल तामाङ घेदुङ भाषा विभाग प्रमुख काजीमान थिङ, केन्द्रिय सदस्य गोमन सिं. लामा, जिल्ला अध्यक्ष गोपिराज घलान, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ, अधिवक्ता सञ्जय चौधरी, राप्ति नगरपालिका प्रशासकिय अधिकृत मिठाराम हुमागाई जनजाति अगुवाहरु धर्मराज मोक्तान, दिल बहादुर तामाङ, अमर चेपाङले सहजीकरण गरेका थिए । ६० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको कार्यक्रम वडा नं. ११ ले बिनियोजन गरेको बजेटबाट सञ्चालन गरिएको हो ।