३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या काण्डमा ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर

मोरङ,१९ बैशाख । ३३ किलो सुन तस्करी प्रकरण र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या आरोपमा ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आज बुधबार पक्राउ परेका २९ र फरार रहेका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित ३४ जनाविरुद्ध अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गराएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

पूर्वडीआईजी गोविन्द निरौला,एसएसपी दिवेश लोहनी एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सञ्जेल तथा जवान विष्णुबहादुर खड्कालाई मुद्दा चलाइँदै छ ।
त्यसैगरी, प्रहरीको नियन्त्रणमा रहेका विमानस्थलका कर्मचारी, व्यापारी र सनम शाक्यको हत्याका आरोपित मोहन कार्की, लाक्पा शेर्पा, एकराज मल्ल, नरेन्द्र कार्की, माधव भनिने मोहन घिमिरेलाई प्रतिवादी बनाइने छ ।

सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले ईश्वर पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेको छ । छानविन समितीले तिब्रगतिमा काम अगाडी बढाएसँगै आरोपितहरुलाई पक्राउ गरी अदालत पेश गरिएको हो ।