भरतपुर महानगरले गर्यो १० महिनामा ३० करोड आम्दानी

चितवन, १६ बैशाख । भरतपुर महानगरपालिकाले चालु आवको १० महिनामा ३० करोड रुपैंया आम्दानि गरेको छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका अनुसार चालु आवको हाल सम्म ३० करोड रुपैंया आन्तरिक आम्दानि गरिसकेको हो । महानगरको आन्तरिक आम्दानि ७० करोड  लक्ष्य रहेको भन्दै प्रमुख दाहालले लक्ष्यलाइ भेट्याउन थुप्रै चुनौति रहेको वताइन् ।
महानगरले उठाउने कर बृद्धिबारे नागरिकमा रहेको अन्यौलता विस्तारै हट्दै गएको उनको दावि छ । घर बहाल कर समेत स्थानिय तहले उठाउन पाउने भएकाले आन्तरिक आम्दानिको लक्ष्य भेट्याउन केहि सहज भएको उनले बताईन् ।
भरतपुर महानगरपालिका वडा नं. ७, ९ र १० अन्तर्गतको सिर्जनाचोक टोल विकास संस्थाको १६ औं साधारण सभा तथा ८ औं अधिबेशनमा बोल्दै दाहालले यस्तो बताएकी हुन् ।
अधिबेशनमा बोल्दै दाहालले हाकिमचोक देखि जगतपुर सम्मको सडकको चौडाई ६२ मिटर रहने केन्द्रिय सरकारको रणनिति रहेको समेत स्पष्ट पारेकी छन् ।
स्थानिय बासिन्दाको मागका आधारमा यसलाइ हाल कम गर्न सकिने दाहालले आश्वासन दिएकी छन् । उक्त सडक असार महिना भित्रै मर्मत सम्पन्न हुने उनको विश्वास छ ।
प्रमुख दाहालले तत्काल भरतपुर जगतपुर सडक मर्मतका लागि सरकारले ३ करोड रुपैंया विनीयोजन गरिसकेको वताएकी छन् ।
दाहालका अनुसार भरतपुरको हाकिमचोक देखि क्यान्सर गेट हुंदै जगतपुर सम्मको सडक मर्मतका लागि केन्द्रिय सरकारले नै बजेट विनीयोजन गरेको हो ।
महिलाको नेतृत्व भएको क्षेत्रमा भ्रष्टाचार नहुने दावि गर्दै उनले समग्र महानगरको विकासका लागि वडा स्तरिय एउटा टोल विकास संस्था रहनुपर्ने वताइन् ।
टोल छिमेकमा स–साना समस्याहरू समाधान गर्न टोल विकास संस्था लाग्नु पर्ने उनको भनाइ थियो । महानगर प्रमुख दाहालले शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी लगायत विकास र सुशासनमा जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्न टोल विकास संस्थाहरूलाई आग्रह गरेकी छन् ।
टोल विकास संस्थाका अध्यक्ष टंकनाथ दवाडीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारी, भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले लगायतले टोल विकास संस्थाले खेलेको भूमिका बारे प्रकाश अधिवेशन सफलताको शुभकाना दिएका थिए ।