नेकपाद्वारा बैशाख २२ गते नेपाल बन्दको घोषणा ।

चितवन , १५ बैशाख । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आउँदो वैशाख २२ गते शनिबार एकदिने नेपाल बन्दको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले वैशाख १४ गते अर्थात् शुक्रबार एक वक्तव्य जारी गर्दै आफ्नो पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा देशभरी गरिएको दमन, कार्यकर्ता बेपत्ता र गिरफ्तारीको विरुद्ध विभिन्न कार्यक्रम सहित नेपाल बन्दको घोषणा गरेका हुन् । वक्तव्यमा भनिएको छ “वर्तमान केपी—पीके गठबन्धन सरकार दिनदिनै फाँसिस्ट बन्दै गइरहेको छ । आफूलाई कम्युनिस्ट भनेर जनतामा भ्रम छरिरहेको यो सरकारले जनताको संघर्षबाट प्राप्त सिमित अधिकारहरु पनि खोस्दै गइरहेको छ । विचार राख्ने, सभाजुलुस गर्ने नेपालीको अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ, भनें भ्रष्ट्राचारी, कालोबजारी, राष्ट्रघातीहरुको संरक्षण गरिरहेको छ । भ्रष्टाचार, कालोबजारी, राष्ट्रघातको विरोध गर्ने जनता हाम्रो पार्टीका नेता र कार्यकर्ताहरुलाई घरमा बसिरहेको, सांगठनिक काममा लागेको बेला, भेला सम्मेलन गर्दा गिरफ्तार गरेर बेपत्तासम्म पार्ने काम यो सरकारले गरिराखेको छ । सरकारका यस्ता रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । ओली नेतृत्वको सरकार बनेदेखि हाम्रो पार्टी, जनवर्गीय संगठनमाथि व्यापक दमन गरिरहेको छ । भ्रष्टाचारलाई कार्वाही गर्नुको साँटो उल्टै उनीहरुलाई संरक्षण गरिरहेको छ । देशमा राष्ट्रघात भईरहेको छ । गत बुधबार मात्र कञ्चनपुरको बिचफाँटामा भारतीय एसएसबीले नेपाली जमिन अतिक्रमण गरे तापनि सरकार एक शब्द बोलेनन् । बिज्ञप्तिमा भनिएको छ स् संकटकाललाई बिर्साउँदै १२ जनाभन्दा बढि हाम्रा कार्यकर्ता लाई बेपत्ता पारेको आरोप लगाउदै वैशाख १९ गते देशैभरी प्रदर्शन , वैशाख २० गते कोणसभा , वैशाख २१ गते साँझ साल जुलुस र वैशाख २२ गते नेपाल बन्द सहितको कार्यक्रम पनि सार्वजनिक गरेको हो । ओलि नेतृत्वको सरकार बनेलगत्तै बिप्ल्व नेतृत्वको माओवादी आक्रमक रूपमा अघि बढेका छन् भने यो सहित तीन पटक नेपाल बन्दको घोषणा समेत गरिसकेका छन् ।