कृषिमा आधारित उद्योग खोल्ने अध्यक्ष प्रचण्डको चाहना ।


चितवन, १२ बैशाख । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुुुष्पकमल दाहाल प्रचण्डले आफ्नो चाहना कृषिमा आधारित उद्योग खोल्ने रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तर्क्िरया कार्यक्रममा बोल्दै नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर विकास योजना बनाउनुपर्ने धारणा राख्नुभएको हो । चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको छ । प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमूना क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गरिने छ ।’ चितवन शिक्षा र स्वास्थ्यको हब हुन सक्ने भन्दै उनले आफूले यससँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकता दिइरहेको बताउनुभयो । विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको देश इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली सुरु गरिने विचार बताउँदै नेपालका १५ ठाउँ र सोमध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो । त्यसैगरी छिमेकी मुलुक चीनबाट आएका व्यावसायीको टोलीसँग मंगलबार साँझ चितवनमा उद्योग खोल्ने विषयमा छलफल भएको बताउनुभयो । जिल्लामा स्टिल, फलाम, कपडा, चप्पलजस्ता २५ वटा उद्योग खोल्न चिनियाँ टोली सकारात्मक रहेको अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले निर्वाचनको समयमा आफूले गरेका प्रतिबद्धता पूरा गर्न लागिरहेको भन्दै आउँदो वर्षमा नै निकुञ्जमाथिबाट माडी जोड्ने आकाशे पुलको कामको प्रक्रिया सुरु गर्ने, नारायणीमा पुल बनाउन र पूरक बजेटमार्फत नै यही आर्थिक वर्षमा केही सडक, ढल, तटबन्ध लगायतका काम गर्ने तयारी भइरहेको समेत बताएका थिए ।