रत्ननगर महोत्सवको आय व्यय सार्वजनिक

महोत्सवमा ३६ लाख भन्दा बढी नाफा

रत्ननगर, बैशाख ८(

रत्ननगर उद्योग बाणिज्य संघले रत्ननगर महोत्सवको आय व्यय सार्वजनिक गरेको छ । संघले आयोजना गरेको सो महोत्सवमा ३६ लाख भन्दा बढी नाफा भएको सार्वजनिक गरिएको छ ।

संघले शुक्रवार एक प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको विवरण अनुसार महोत्सवमा ३६ लाख ३५ हजार रुपैया नाफा भएको जनाएको छ । महोत्सवमा २ करोड १२ लाख ६७ हजार ८४५ रुपैया आम्दानी भएको र १ करोड ७६ लाख ३२ हजार १ सय ८ रुपैया खर्च भएको संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार खर्च कटाएर महोत्सवबाट ३६ लाख ३५ हजार ७ सय २६ रुपैया नाफा भएको हो ।
संघले दुई दुई बर्षमा रत्ननगरमा महोत्सव गर्दैै आएको छ । गत बर्ष पौष २७ देखि माघ ७ गते सम्म महोत्वस आयोजना गरेको थियो ।
महोत्सवबाट भएको नाफा सामाजिक क्षेत्रमा खर्च गरिने छ । संघका अध्यक्ष राजाराम रेग्मीले महोत्सवबाट भएको नाफा सामाजिक क्षेत्रमा खर्च गरिने बताए । महोत्सवमा भएको नाफा सचिवालय व्यवस्थापन संगै वालश्रम न्यूनीकरण र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने योजना रहेको अध्यक्ष रेग्मीले जानकारी दिए।