धर्म परिवर्तन गराउनेलाई अब देश निकाला गरिने ।

काठमाडौं ( धर्म परिवर्तन गराउनेलाई अब देश निकाला गरिने भएको छ । सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको हो ।

विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न संस्थााको दर्ता खारेजी र सम्बद्ध व्यक्तिलाई देश निकाला सम्म गर्न सक्ने तयारी गरेको छ ।

नेपालमा कार्यरत झण्डै २५० भन्दा बढी अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था र तिनका पदाधिकारीमाथि कडाइ गर्दै सरकारले राष्ट्रिय सदाचार नीति ल्याउन लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार पारिरहेको जानकारीमा आएको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले सार्वजनिक निकाय, निजी क्षेत्र, राष्ट्रिय ताथ अन्तराष्ट्रिय गैरसरकारी क्षेत्रलगायतलाई नैतिकवान बनाउन राष्ट्रिय सदाचार नीति ल्याउन लागिएको जानकारी दिए ।

पूर्वकानुनसचिव एवं सदाचार नीतिका मस्यौदाकार मोहन बञ्जाडेले आईएनजीओहरूले सहयोगका नाममा धर्म परिवर्तन गराउने खतरनाक काम गरिरहेको आरोप लगाए । ‘यो हाम्रो धर्म र सभ्यता नष्ट गराउने दुष्प्रयास हो । धर्म परिवर्तन गराउन खोज्ने तत्वलाई कडाइ नगर्ने हो भने मुलुकले गम्भीर खाले समस्या भोग्नुपर्छ’, बञ्जाडेले भने । नेपालको संविधान र फौजदारी कानुनमा पनि धर्म परिवर्तन गराउनेलाई कडा कारवाही गर्ने प्रावधान छ । ‘संविधान र कानुनी व्यवस्थाको पालना गराउन नसक्ने हो त्यस्ता कानुनी प्रावधानको अर्थ रहँदैन’, बञ्जाडेले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीले कुनै पनि एनजीओले नेपालमा धर्म प्रचारप्रसार गर्न नपाउने स्पष्ट पार्दै भने, ‘गर्छ भने त्यो संविधान र कानुनविपरीत काम हो र उनीहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ ।’
आजको अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।