नारायणगढ मुग्लीन सडकखण्डको नौ किलोमा ट्रकले बसलाई ठक्कर दिँदा १३ घाइते, तीनजनाको अवस्था गम्भीर

                                                 

फाईल फोटो :

चितवन, वैशाख ७(, काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नारायणगढ मुग्लीन सडकखण्डको नौ किलोमा ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा आज बिहान ३ः२० बजे उक्त दुर्घटना भएको हो ।

काठमाडौँबाट प्यूठान जान आउँदै गरेको ना ४ ख ६५९१ नंको बस र काठमाडौँबाट वीरगञ्ज जान आउँदै गरेको ना ७ ख ५०२३ नं को बसलाई भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ५२९४ नंको ट्रकले ठक्कर दिएको हो ।

दुर्घटनामा परी प्यूठानतर्फ जान आउँदै गरेको बसका चालकसहित १२ यात्रु घाइते र ट्रकका चालकसहित १३ घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको चितवन मेडिकल कलेज र ११ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गम्भीर घाइते हुनेमा ट्रक चालक कपिलवस्तु चिरुरीका ४१ वर्षीय कृष्ण चौधरी र बसका यात्रु प्यूठान खलंगाकी ६० वर्षीया सावीदेवी घर्तीमगर र प्यूठानकै नौगिरीटारकी २७ वर्षीया पवित्रा घर्तीमगर रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।