गोपालगञ्जमा आजबाट महायज्ञ शुरु हुँदै ।

५० लाख रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य

 

चितवन, ०४ वैशाख । भरतपुर महानगरपालिका वडा नम्बर १५ गोपालगञ्जमा आजबाट वृहत शिव महापुराण तथा धनधाञ्याचल ज्ञान महायज्ञ शुरु भएको छ । गोपालगञ्जमा रहेको सिद्धकामेश्वर शिवालय मन्दिर (ट्रष्ट) समितिले वृहत शिव महापुराण तथा धनधाञ्याचल ज्ञान महायज्ञ सञ्चालन गरेको हो ।

स्थानीय राप्रावि गोपालगञ्जबाट १० कठ्ठा जग्गा भोगचलनको लागि पाएको मन्दिरले महायज्ञबाट आम्दानी भएको रकमले मन्दिरको गुरु योजना अनुसार काम गर्ने जनाएको छ । सिद्धकामेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवीराम अधिकारीका अनुसार मन्दिर परिसरमा सभाहल निर्माण गर्ने, वृद्ध कल्याण तथा विद्धश्राम स्थल र पार्क निर्माण गर्ने, एक सय आठ शिवलिंग स्थापना गरिएको ठाउँमा ट्रस बनाउनेलगायतको गुरु योजना निर्माण भएको छ ।
सुविधा सम्पन्न सभाहल निर्माणको लागि खर्च धेरै लाग्ने भएकोले प्रदेश र केन्द्र सरकारसँग कुरा राख्ने उल्लेख गर्दै अधिकारीले ११ दिन हुने महायज्ञबाट कम्तिमा पनि ५० लाख रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य रहेको बताए । आध्यात्मिक चेतनाबाट मात्रै भौतिक विकास गर्न सकिने भएकोले करिब १२ करोड रुपैयाँको गुरु योजना निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । २०५५ सालमा निर्माण सुरु गरिएको मन्दिर ५८ सालमा उद्घाटन गरिएको थियो ।
मन्दिरको भौतिक संरचना निर्माणको लागि पर्यटन मन्त्रालयबाट तीन लाख रुपैयाँका साथै शिवलिंग स्थापनाको लागि स्थानीय आमा समूहले करिब ६ लाख रुपैयाँ संकलन गरेको थियो । आज वैशाख ४ गते महायज्ञको उद्घाटन तथा ५ गते अक्षय तृतीयाको दिन शिवलिंगको पूजा गरिनेछ ।
महायज्ञमा मुख्य वाचकको रुपमा प्रवीण कथा वाचक युवा पण्डित आमोद ढकाल रहनेछन् । मन्दिरले विभिन्न धार्मिक तथा सामाजिक उद्देश्य राखेर वैशाख ४ देखि १४ गतेसम्म महायज्ञको आयोजना गर्न लागेको गत् शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।