दर्ता बिना सञ्चालनमा आएको त्रिशा इन्टरप्राइजेजमा प्रशासनद्वारा बन्द ।

 

चितवन , २७ चैत । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता नै नगरी सञ्चालनमा आएको यहाँका एक पसलमा जिल्ला प्रशासन कार्यालय चितवनको बजार अनुगमन टोलीले मंगलबार बन्द गरेको छ । वीरगञ्जको त्रिशा इन्टरप्राइजेजको नारायणगढ शाखालाई प्रशासनले बन्द गराएको हो । वीरगञ्जमा मुख्य कार्यालय रहेको इन्टरप्राइजेजले राजस्व कार्यालयमा दर्ता गरेको भएपनि नारायणगढ शाखाले भने यहाँको राजस्व कार्यालयमा दर्ता नगरेको अनुगमन टोलीका संयोजक एवम् बजार संरक्षण अधिकृत ओम नारायण शर्माले जानकारी दिए । विविध खाद्य पदार्थको थोक व्यापार गर्ने त्रिशा इन्टरप्राइजेज नारायणगढ शाखालाई दर्ता पछि मात्रै सञ्चालन गर्न निर्देशन दिइएको शर्माको भनाइ छ । त्रिशा इन्टरप्राइजेजले उत्पादन मिति उल्लेख नभएका मेथी लगायत अन्य खाद्य पदार्थ समेत बिक्री वितरण गरिरहेको फेला पारिएको थियो । त्यस्तै, नारायणगढको बालकुमारी रोड स्थित केहि पसलहरुले बालबालिकाले खाने प्रतिबन्धित पदार्थ बिक्री वितरण गरिरहेको फेला पारेको शर्माले बताए । त्यस्ता खानेकुराको बिक्री वितरण तत्काल रोक्न निर्देशन दिइएको शर्माको भनाइ छ ।