स्वास्थ्य र शिक्षा सबै नागरिकले समान रुपमा पाउनुपर्छ : दाहाल

चितवन, २५ चैत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले समान ढंगबाट यो अधिकारको उपयोग गर्न पाउनुपर्ने बताएका छन् ।

भरतपुर अस्पतालको ५५औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले संविधानमा नै शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकार भनेर उल्लेख गरिएकाले अबको समृद्ध नेपाल हुँदै गर्दा शिक्षा र स्वास्थ्य आम जनताको पहुँचमा हुनुपर्ने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने,“हाम्रो लक्ष्य पूर्वाधार मात्रै नभएर आत्मसम्मान सहितको समृद्धि हो ।” पूर्वाधारमा समृद्ध रहेका मुलुकका जनतामा पनि वितृष्णा देखिएको भन्दै उनले पूर्वाधार निर्माणले मात्रै समृद्धि नआउने बताए ।

वैज्ञानिक शिक्षाको अभावमा अन्धविश्वासका कारण अहिले पनि ठूला आपराधिक घटना पनि हुने गरेको भन्दै उनले मानिसलाई आत्मसम्मानका साथ बाँच्न सक्ने गरी शिक्षा र स्वास्थ्य निशुल्क पाउनुपर्ने बताए ।
दलहरुबीचमा एकता भएका बेला नेपालका सबैखाले उपलब्धि हासिल भएको भन्दै उनले अब देशको समृद्धिका लागि पनि दलबीचमा समझदारी र सहमति आवश्यक रहेको बताए ।
चितवन ‘मेडिकल सिटी’का रुपमा विकास हुँदै गएको भन्दै उनले रोगहरु पनि यही बढ्दै गएकाले रोगको अनुसन्धान केन्द्र विकास गर्नुपर्ने र त्यस केन्द्रको नेतृत्व भरतपुर अस्पतालले लिनुपर्ने बताए । यसअघि आफू प्रधानमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा नीतिगत रुपमा नै महत्वपूर्ण काम भएको उनको भनाइ थियो ।
कार्यक्रममा पुर्ब मन्त्री गगन थापा, प्रदेश सांसद विजय सुवेदी, नेकपा (एमाले) चितवनका उपाध्यक्ष तेजेन्द्र खड्का, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराई, भरतपुर अस्पतालका पूर्वअध्यक्ष बद्री तिमिल्सिनालगायतले अस्पतालले पछिल्लो समय गरेका कामको प्रशंसा गरेका थिए ।

यसैविच, सोही अवसरमा अध्यक्ष दाहालले सिटी स्क्यान, हेमोडाइलासिस सेन्टर, अक्सिन उत्पादन गृह र बहिरंग सेवा भवनको उद्घाटन गरेका थिए ।

विसं २०१३ सालमा १५ शय्याबाट शुरु गरिएको अस्पतालमा हाल ६०० शय्या रहेका छन् । दैनिक एक हजार ५०० हाराहारी बिरामीले अस्पतालबाट बहिरंग सेवा लिँदै आएका छन् । अस्पतालमा चितवनसहित छिमेकी २२ जिल्लाबाट उपचारका लागि बिरामी आउने गर्दछन् ।