भरतपुरमा हुने पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा

चितवन,चैत १९(

चितवनको भरतपुरमा आगामी चैत २३ गतेदेखि २७ गतेसम्म हुने पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले निर्माण गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा पाँच दिनसम्म चल्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आज (सोमवार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
संघले प्रदर्शनीको प्रचारप्रसारका लागि २१ गते नवलपुरको सिजी पार्कबाट खैरहनी नगरपालिकासम्म शोभायात्रा निकाल्ने तयारी गरेको छ । शोभायात्रामा यो क्षेत्रमा रहेका उद्योगी व्यवसायीहरु आ–आफ्ना सवारी साधानहरुमा पर्चा ब्यानर र प्लेकार्डसहित उपस्थित हुने संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिए । प्रदर्शनको प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेलेले उदघाटन गर्नेछन् । ‘दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवर्द्धन’ भन्ने नाराका साथ हुन लागेको प्रदर्शनीमा २ सय भन्दा बढी स्टल राखिने संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिए ।

कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवर्द्धन गर्ने, राष्ट्रिय उत्पादनको अधिकतम उपयोग गर्न प्रोत्साहन गरी आयात प्रतिस्थापन गर्ने, नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्ने उद्देश्य प्रदर्शनीको रहेको अध्यक्ष दुवाडीले बताए । प्रदर्शनीमा औद्योगिक बस्तुको प्रत्यक्ष अवलोकन, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र परामर्श, उद्योग प्रवद्र्धन परिसर, व्यापार प्रवर्द्धन परिसर, महिला उद्यमी परिसर, रोजगार प्रवर्द्धन परिसर, कृषि तथा पशुजन्य उत्पादन परिसर, होटल तथा रेष्टुरेन्ट परिसर रहनेछन् ।

प्रदर्शनको टिकट दर ५० रुपैयाँ राखिएको छ । विद्यार्थीका लागि ३० रुपैयाँ मात्रै लिइनेछ । प्रदर्शनीबाट विशेषगरी नवयुवा उद्यमीहरूलाई लाभ हुने विश्वास गरिएको छ ।