पुर्ब मन्त्रि पाण्डेको कालिका कन्स्ट्रक्सनका सात सवारीमा बम र आगजनी


चितवन, २० चैत । पुर्बमन्त्रि तथा राप्रपा का उपाध्यक्ष विक्रम पाण्डेले सञ्चालन गरेको कालिका कन्स्ट्रक्सनका सवारी साधनमा बम र आगजनी भएको छ । नेकपा विप्लव समूहका कार्यकर्ताहरुले उक्त घटना घटाएको बुझिएको छ ।

धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पुर्‍याइएका हुन् । मंगलबार बिहान करीब १ बजेतिर १० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले हरिहरपुरगढी गाउँपालिका–५ मा रहेको कालिका कन्स्ट्रक्सनको अस्थायी क्याम्पमा रोकिराखिएका सवारीमा क्षति पुर्‍याएका हुन् ।

लुअम ७२९६ अस्थायी नम्बरको डबलक्याप बोलेरोमा बम प्रहार गरी पूर्णरुपमा क्षति पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै, ना १ क ४३३२, ना १ क ५६९८, ना १ क ४३३८, ना १ क ७२४४ नं का टिपरमा पनि क्षति पुगेको छ । रोड लोडर र रोलरमा पनि आंशिक क्षति पुगेको छ । विप्लवका कार्यकर्ताले प्रहार गरेको बमका छर्रा लागेर रत्ननगर–१५ चितवनका २५ वर्षीय विक्रम गुरुङ घाइते भएका छन् । उनी सामान्य घाईते भएको बताइएको छ ।

प्रहरीले विप्लवका कार्यकताको खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।
यता, आयोजना प्रमुख ठाकुर ढकालले विप्लवका कार्यकर्ताले बिना जानकारी क्याम्पमा आगजनी र बम प्रहार गरेको बताए । उक्त घटनाका कारण क्याम्प क्षतिग्रस्त बनेको र काम गर्ने वातावरण हटेको उनले बताए । उनका अनुसार घटनाको बारेमा सडक विभाग तथा कन्स्ट्रक्सनलाई जानकारी गराइएको छ र तत्काल काम गर्न सक्ने अवस्था नरहेको उनले बताए ।
बम र आगजनीपछि स्थानीयवासी र कामदारको सक्रियतामा आगो नियन्त्रणमा लिइएकाले थप सवारी तथा मानवीय क्षति हुन नपाएको उनँको भनाइ छ । यता विप्लवका कार्यकर्ताले मकवानपुरको बकैया गाउँपालिकामा पनि दुई स्काभेटर र एक क्रेनमा क्षति पुर्‍याएको आयोजना प्रमुख ढकालले बताए ।
सिन्धुलीको धुराबजारदेखि मकवानपुरको हेटौँडासम्मको सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले सिन्धुलीको कमलामाई नगरपालिका–४ को कुडुलेदेखि हेटौँडासम्मको ट्र्याक खोल्ने र निर्माण गर्ने कार्य अघि बढाइरहेको छ ।