कर्मचारीको लापरबाही को कारण बजार नपुग्दै पुस्तकहरू अलपत्र

चितवनको भरतपुरस्थित स्याउलीबजारमा रहेको सरकारी स्वामित्वको संस्था साझा प्रकाशनका कर्मचारीले प्रभावकारी रूपमा काम नगर्दा बजारमा माग भइरहेका पुस्तकहरू पनि स्टोरमै थन्किएका छन् । निजी क्षेत्रका प्रकाशक तथा व्यवसायीले सीमित स्रोत साधनका बीच पनि प्रशस्त मुनाफा आर्जन गरिरहेका बेला कर्मचारीको उदाशीनताले उक्त संस्थाका पुस्तकहरू अलपत्र परेका हुन् ।साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा छड्के अनुगमनमा आउँदा क्षेत्रीय कार्यालयका प्रमुख मनरथ घिमिरे नै दुई सातादेखि बिना जानकारी कार्यालयमा अनुपस्थित थिए । कर्मचारी आफूखुशी बिदामा बस्ने, अवकाश प्राप्त कर्मचारीसमेत हाजिर गरेर बस्ने र व्यापार प्रवद्र्धनमा काम नगर्ने प्रवृत्तिले सोचेजति पुस्तक बिक्री हुन सकेको छैन । गएको चैत १ गतेदेखि पुनः अनुपस्थित हुँदा समेत क्षेत्रीय कार्यालय प्रमुख मनरथ घिमिरेले कुनै जानकारी महाप्रबन्धक शर्मालाई कुनै जानकारी नै गराएको शर्मा बताउँछन् । घिमिरेले भने एक दिनका लागि झापास्थित घर जाने क्रममा दुर्घटनामा परेर घाइते हुँदा आउन नसकेको बताए । यस्तै, कार्यालयकै एकजना कर्मचारी अमृतकान्त पण्डित ०७३ माघ १ गतेदेखि नै अवकाश प्राप्त भए पनि हाजिर गरेर बसिरहेको छ । पण्डित लाई अवकाशको एक महिनाभित्र बुझबुजारथ गर्न लिखित निर्देशन दिँदासमेत अटेरी गरि हालसम्म हाजिर गरेर बसेका हुन् । साझा प्रकाशनको भरतपुर हाकिमचोकमा रहेको करिब पाँच कट्ठा जग्गाको समेत सदुपयोग हुन सकेको छैन । अनुगमनमा कर्मचारीले तलबसमेत खान नपाएको र १० महिनाको घरभाडा समेत बुझाएको छैनन् । लेखा परीक्षण नभएकाले यथार्थ हरहिसाबसमेत देखिएको छैन । अहिले पनि केन्द्र र १३ वटा शाखा कार्यालयमा गरी रु २२ करोड बराबरका पुस्तक स्टोरमा भण्डारण छ । साझा प्रकाशनले सामुदायिक विद्यालयको ३ देखि ९ सम्मका अंग्रेजी माध्यमका पुस्तक उत्पादन र वितरण गर्दै आएको छ ।