राप्रापा नेता तथा पूर्ववनमन्त्री पाण्डेको संलग्नतामा भुमाफियाद्धारा सार्वजनिक जग्गा अतिक्रमण

चितवन । रत्ननगर नगरपालिकाको वडा नम्बर नौ मा राप्रापा नेता तथा पूर्ववनमन्त्री पाण्डेको संलग्नतामा भुमाफियाद्धारा सार्वजनिक जग्गा अतिक्रमण गरेको करिब दुई बिघा जमिन भूमाफियाको कब्जाबाट फिर्ता ल्याउन रत्ननगर नगरपालिका कार्यालय सफल भएको छ । पूर्ववनमन्त्री विक्रम पाण्डेको संलग्नतामा भूमाफियाले चलखेल गरेर एक बिघा १८ कठ्ठा सार्वजनिक जग्गा हत्याउने प्रयास गरेको खुलासा खुल्नमा आएको हो ।

रत्ननगर–९ मा पूर्ववनमन्त्री विक्रम पाण्डेको एक बिघा १८ कठ्ठा सार्वजनिक जग्गा फिर्ता गरिएको रत्ननगर नगरपालिका प्रमुख नारायण वनले बताए । मन्त्री पाण्डेले खरिद गर्नुपूर्व उक्त सार्वजनिक जग्गा सोही स्थानका एक स्थानीय भुमाफियाले अनाधिकृतरुपमा आफ्नो नाममा पास गरिसकेका थिए ।
रत्ननगरको सार्वजनिक जग्गा पूर्वमन्त्री पाण्डेदेखि अन्य कतिपय राजनितिक, व्यवसायिक तथा प्रशासनिक पहँुच भएका भूमाफियाहरुले अनाधिकृत रुपमा आफ्नो नाममा बनाएको खुलासा भएको छ । रत्ननगर–९ मा पूर्वमन्त्रीले र रत्ननगर–७ मा अर्का एक भूमाफियाले अनाधिकृतरुपमा जग्गा आफ्नो नाममा पास गरेको पाइएको नगर प्रमुख वनले जानकारी दिए ।
वडा नं. ७ को काठमाडौंका भूमाफियाले आफ्नो नाममा पास गरेको करिब एक बिघा जग्गा पनि नगरपालिकाले फिर्ता गरेको छ । उक्त वडाको जग्गा विवाद भएपछि भूमाफियाले नगरपालिकाविरुद्ध अदालतमा मुद्दा हालेको थियो तर मुद्दा जितेर नगरपालिकाले सार्वजनिक जग्गा भूमाफियाबाट फिर्ता गराउन सफल भएको हो ।
रत्ननगरमा मात्र दशौं विघा सार्वजनिक जग्गा रहेको र विभिन्न स्थानका ति जमिनहरु भूमाफियाले हडपेको प्रष्टै देखिन्छ ।
जग्गा संरक्षण अभियान
भूमाफियाहरुले सार्वजनिक जग्गा अतिक्रमण गरी बेचबिखनसमेत गर्न थालेपछि नगरपालिकाले कडाइका साथ जग्गा संरक्षण अभियान सुरू गरेको छ । नगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी रेखाङ्कन गर्ने र अधिग्रहण गर्ने काम सुरू गरेको हो । सार्वजनिक जग्गा संरक्षण गरी विकासका पूर्वाधार निर्माण गरिने नगरपालिका प्रमुख वनले बताए ।
संरक्षण अभियानमा मेयर नारायण वन, उपमेयर विमला दुवाडी, सार्वजनिक जग्गा संरक्षण समितिका संयोजक हरिकुमार श्रेष्ठसहित समितिका सदस्यहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत, रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायत व्यवसायी लागी परेका छन् । मेयरसहितको सोही टोलीको उपस्थितिमा डोजर लगाएर रत्ननगरमा सार्वजनिक जग्गा संरक्षण सुरू गरिएको छ ।
‘भूमाफियाबाट फिर्ता गरिएका सार्वजनिक जग्गामा बसपार्क, इकोपार्क, कल्चरल भिलेज, सार्वजनिक शौचालय, पार्किङस्थल तथा विश्रामस्थल बनाउने योजना रहेको मेयर वनले जानकारी दिए ।