तामाङ सञ्चार समुह चितवनको अध्यक्षमा ज्ञानेन्द्र

चैत्र ३, भरतपुर । तामाङं सञ्चार समुह चितवनको अध्यक्षमा ज्ञानेन्द्र तामाङ निर्विरोध चयन भएका छन । शनिबार भरतपुरमा सम्पन्न समुहको दोश्रो अधिवेशनले तामाङको अध्यक्षतामा ११ सदस्यि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा बबिलाल तामाङ, सचिवमा राजेश रुम्बा र कोषाध्यक्षमा नीरा तामाङ चयन भएका छन । त्यस्तै सदस्यहरुमा प्रकाश तामाङ, अनुपा तामाङ, सञ्जय तामाङ, सुनिता तामाङ, सन्तोष तामाङ चयन भएका छन । अन्य २ सदस्य भने कार्यसमितिको बैठकबाट मनोनयन गरिने अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिए । यसैबीच अधिवेशनबाट यहि चैत्र १० गते काठमण्डौमा हुने तामाङ सञ्चार समुहको महाधिवेशनका लागि ३ जना प्रतिनिधि समेत चयन गरेको छ । निवर्तमान अध्यक्ष उर्गेन तामाङ, निवर्तमान उपाध्यक्ष सरस्वति तामाङ र अध्यक्ष ज्ञानेन्द्र तामाङ प्रतिनिधिको रुपमा केन्द्रिय महाधिवेशनमा सहभागी हुने अध्यक्ष तामाङले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष तामाङले पत्रकारितामा तामाङ समुदायको सहभागिता बढाउन र पत्रकारिता मार्फत नै समाज परिवर्तन गराउन समुहले भुमिका खेल्ने दाबी गरे । उनले समुहको थुपै्र दिर्घकालीन योजनाहरु रहेको जनाउदै आफ्नो कार्यकालमा ती योजनाहरुलाई संस्थागत र सफल बनाउन लागिपर्ने प्रतिबद्धता जनाए । आफ्नो समुदायको भाषा, कला, संस्कृति जगेर्नामा पनि सक्रिय रहने उनले बताए ।

त्यसअघि अध्यक्ष उर्गेन तामाङको अध्यक्षतामा सम्पन्न संस्थाको दोस्रो अधिवेशनले विभिन्न प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाले हालसम्म गरेको विभिन्न कार्यक्रमहरुसहितको प्रतिवेदन अध्यक्ष उर्गेन तामाङले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष बबिलाल तामाङले प्रस्तुत गरेका थिए । अध्यक्ष तामाङले चितवनमा अति कम रहेको तामाङ पत्रकारहरुको अवस्था समुह गठन पछि निकै मजबुत बनेको बताए । कलमको माध्यमबाट पछि परेका थुप्रै तामाङहरुलाई जागरुक बनाउने अभियानमा आफुहरु सधै लागिरहने उनको प्रतिबद्धता थियो । कार्यक्रम अध्यक्ष उर्गेन तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।