एनसीसी बैंकमा सीआइबीको छापा, २ सय करोड घोटाला गरेको आशंकामा समातिए काँग्रेस नेता धिताल

अनुसन्धान हुँदैं

काठमाडौं, २ चैत। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले बैंक मर्जरका समयमा २ सय करोड घोटाला भएको आशंकामा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा शुक्रबार छापा मारेको छ ।
प्रहरीले घटना बारेका पूरा विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड सदस्यसहित ३० जना भन्दा बढीलाई पक्राउ गरिएको हो । सीआइबी प्रमुख डिआइजी पुष्कर कार्कीले छापा मारेको विषयलाई पुष्टि गरेका छन् ।
बैंकमा भएको भनिएको २ सय करोड (२ अर्ब) रुपैँया घोटाला काण्डमा नेपाली काँग्रेसका नेतासहित १३ जना समातिएका हुन् ।
नक्कली पुर्जा राखेर ऋण दूरुपयोग गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काँग्रेसका नेता समेत रहेका विष्णु धितालसहित १३ जनालाई पक्राउ गरेको हो । धिताल यसअघि एनसीसी बैंकमा मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष थिए । धिताल तत्कालिन रारा विकास बैंकको बोर्ड सदस्य हुँदै एपेक्स डेभलपमेन्ट बैंकको अध्यक्ष बनेका थिए ।
धिताल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनी गत महाधिवेशनमा केन्द्रीय सदस्यमा लडेर चुनाव हारेका थिए । धिताल लमजुङबाट सांसदको समेत आकांक्षी थिए । तर, टिकट पाएनन् ।

एनसीसी बैंकसँग गत बर्ष मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकको २ सय करोड रुपैँया ऋण दुरुपयोग भएको खुलासा भएको थियो । जसमध्ये ४४ करोड रुपैँयामात्रै उठेको छ । बाँकी १५६ करोड रुपैँया उठ्ने अबस्था नदेखिएपछि राष्ट्र बैंकको अनुरोधमा सीआइबीले एनसीसीमा छापा मारेको हो । अहिलेसम्म धिताल र डिठ्ठाबहादुर तामाङसहित ३० जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा अधिकांश तत्कालिन एपेक्स बैंकका कर्मचारी छन् । मर्जरपछि उनीहरु एनसीसीमा कार्यरत थिए ।

सिआइबी प्रमुख पुष्कर कार्कीले १३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । उनका अनुसार, अभियुक्तहरुमाथि बैंकिङ कसुर अन्तरगत कारबाही अगाडि बढ्नेछ ।