क्यान्सर अस्पतालका बिरामी अब नीजि अस्पताल जानै नपर्ने

चितवन,फागुन २२
चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण ल्याईएको छ । अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार सञ्चालनमा रहेका दुईवटा सेकाइका उपकरणभन्दा अहिले आधुनिक प्रविधिको उपकरण भित्र्याइएको हो ।
हाल सञ्चालनमा रहेका कोवाल्ट उपकरणले क्यान्सर भएको कोशिकाका आसपासका कोशिकालाई पनि असर पार्ने भए पनि अहिले भित्र्याईएको नँया उपकरणले बिरामीको क्यान्सर देखिएको कोशिकामा मात्र विकिरणमार्फत रोगको निदान गर्नेछ । । हाल अस्पतालमा लिनियाक ६०० सिडी र कोबाल्ट ६० बाट सेकाइ गरिँदै आएको छ ।
आउँदो एक महिनाभित्रमा नयाँ उपकरण जडान गरी सेवा थालिने कार्यकारी निर्देशक डा आचार्यले बताए । यस अघि नै बनिसकेको वंकर (विकिरण बाहिर नजानका लागि निर्मित कोठा) तयार भईसकेकाले उपकरण जडानसँगै सञ्चालनमा आउने छ । यससँगै अब बिरामी बाहिरका निजी अस्पतालमा क्यान्सर उपचारको लागी जानै नपर्ने भएको छ । क्यान्सर अस्पतालले रु २५ हजारदेखि रु ७५ हजारमा बिरामीको सेकाइको चक्र पूरा गर्ने गर्दछ । तर निजी अस्पतालमा यसका लागि रु तीन लाखभन्दा बढी रकम तिर्नुपर्ने उनले बताए ।

नयाँ उपकरण थपिएसँगै क्यान्सर अस्पताल आउने बिरामीलाई उच्च प्रविधिको सेवा दिन सकिने र निजी अस्पताल धाउन नपर्ने भएको उनले बताए ।