फटला महतोको पुख्र्यौली जग्गा हडपेका बलराम धरेललाई थाकसको चेतावनी 

चितवन, फागुन २२–
चितवनको राप्ती नगरपालिका–६ हर्दि निवासी फटला महतोको पुख्र्यौली जमिन हडपेका स्थानीय बलराम धरेलले उक्त जग्गा विक्री गर्न खोजेको भन्दै थारु कल्याणकारिणी सभा चितवनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

हिजो सोमबार जिल्ला सभापति विश्राम महतोद्धारा जारी विज्ञप्तीमा फटलाबाट गैरकानुनी रुपमा जग्गा दर्ता गराई कित्ता नं.१६५७, १६५८, १६५९ र १६६० को जग्गा विभिन्न व्यक्तिको नाममा हस्तान्तरणा गर्ने प्रक्रियामा रहेको सुनिएकोले थाकसको गम्भिर ध्यानाकर्षण भएको हो विज्ञप्तीमा उल्लेख गरिएको छ ।

थाकसले सोझासिधा थारुको जग्गा हडपी लिएका बलराम धरेलबाट कसैले जग्गा खरिद गरेमा वा कुनै व्यहोराबाट हक हस्तान्तरण गरि लिएमा पछि पर्न जाने झै झमेला, बाधा व्यवधान प्रति जग्गा लिने व्यक्ति स्वंम जवाफदेही हुने चेतावनी दिएको छ । थाकसले यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई सकेको र विवाद समाधानको पहल भईरहेको समेत जनाएको छ ।
बेनी भन्ने फटला महतोले आफ्नो बाबु बाजेकै पालादेखि अर्थात वि.सं.१९७९ सालदेखि सो जग्गा निरन्तर घर बनाई बसोबास गरि आएको र फिल्डबुक समेतका प्रमाण कागजमा जग्गाधनी आफ्नै काका सुकरा महतो उल्लेख भएको उक्त जग्गा जबरजस्ती हडप्ने र भित्र भित्र विभिन्न जालसाजीका क्रियाकलाप गरि बलराम धरेलले विक्री गर्न खोजेको आरोप लगाए ।