संविधानको अक्षरस पालना नभए सम्म मानवअधिकार संरक्षणको कल्पना गर्न सकिँदैन : मानव अधिकारकर्मी


चितवन १० फागुन । जनअधिकार अभियान नेपाल चितवन शाखाले बिहिबार भरतपुरमा आयोजना गरेको वर्तमान राजनितिक परिस्थिति र मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बार एशोसियसन की केन्द्रिय सदस्य इन्दु कोइरालाले संविधानको अक्षरस पालना नहुँदा सम्म मानवअधिकार संरक्षणको कल्पना गर्न नसकिने बताएकी छिन् । राष्ट्रियसभा सदस्यमा अघिल्लो सरकारले गरेको सिफारिसलाइ वर्तमान सरकारले उल्टाएर गलत नजिर बसालेको उनको तर्क थियो । बुधबार रुपन्देहीमा भएको घटना दण्डहिनताको पराकाष्ठ भएको उनको भनाइ थियो । विभिन्न हत्या र गुण्डागर्दीमा संग्लन रहि फरार हुँदै आएका रुपन्देहीका मनोज पुन बुधबार बिहान प्रहरी इन्काउन्टरमा मारिएका थिए ।नेपाल बार एशोसियसन चितवनका पुर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता धर्मराज आचार्यले शान्तिपुर्ण रुपमा गरिएको आन्दोलनमा धरपकड गर्न नहुने बताए । राज्यले कसैको पनि नैसर्गिक अधिकार कुण्ठित हुने खालका गतिविधी गर्न नहुने भन्दै उनले त्यसो गरिए सरकारका विरुद्ध जाने बताए । मानव अधिकार संरक्षण मञ्च चितवनकी अध्यक्ष कल्पना उप्रेतीले शान्ति र स्थायीत्व हुने ठाउँमा मानव अधिकार कायम राख्न सकिने भन्दै सरकारको ध्यानाकर्षण गरेकी थिइन् । संविधान कार्यान्वयन संगै मानव अधिकारको बहाली हुने उनले विश्वास व्यक्त गरेकी छन् । लोकतान्त्रिक सरकारले अलोकतान्त्रिक कार्य गरेको उनको भनाई थियो । त्यस्तै, राष्ट्रिय बुद्धिजिबी परिष्द्का केन्द्रिय सदस्य कृष्ण धिमिरेले वर्तमान सरकारले यस्ता कार्यहरु गर्नु दुखद भएको भन्दै आफ्ना गतिबिधीहरु सुुुधार गरेर अगाडी बढ्न सरकारलाई आग्रह गरे ।